सुन्दर लोकतन्त्र

0
203

कविता

पिएस्पी चाम्लिङ राई

शुरुमा, तपाईँको घरमा आगो लगाउनु
खेतबारीमा डोजर चलाइदिनु
अनि दिनु, तपाईँलाई एकथान त्रिपाल
एक कार्टुन चाउचाउ, एक बोरा चामल
मताउनु तपाईँलाई रक्सीले
थमाउनु गोटा दुई तनिेक नोट
भिड्न लगाउनु तपाईँलाई एकआपसमा
जब तपाईँ थाक्नुहुन्छ नि,–
अनि मैले सुरु गर्नु राजनीतिको एक अध्याय ।

तपाइको आखाँमा कोइला झोस्नु
मुख गु खाँदेर टेपले टाल्दिनू
लात्तै–लात्ताले गोदेर तपाईँको छातीमा
मुक्कै–मुक्काले ठोकेर तपाईँको ढाडमा
एक शब्द ननिस्किदाँ तपाईँको बन्द ओठबाट
तपाईँको पसिनाले ग्लास धोएर स्कच सुक्र्याउदै
म मख्ख पर्नु
“क्या सुनसान, वाह, यहि त हो शान्ति !”
र यहि शान्तिको भिडियो बेचेर मैले कमाउनु केहि सुकि !

तपाईँको आन्द्रा चुट्याएर
मेरो पेटमा जोड्नु र म अघाउनु
तपाईँको ह्रृदयको आवाजमा साईलेन्सर जोड्नु
तपाईँको मुठ्ठी च्वाट्ट काट्नु र सडकमा फालेर तपाईँको मुठ्ठी
म उद्घोष गर्नु नयाँ आन्दोलन या ऐतिहाँसिक शान्ति जुलुस
र म तपाईँको टाउकोको पिर्कामा बसेर
टुरिष्टहरुसँग गफ ठोक्नु
“देख्नुहोस क्या छ जुलुस या भन्नु
हेर्नुहास वाह क्या छ क्रान्ति, रक्तिम क्रान्ति !”

क्या मज्जा….. आहा,
अनि नि,
तपाईँको घरको परेवालाई सुर्काउने हालेर
टुँडिखेलको आकासमा झुण्ड्याउनु
र गर्नु शान्तिसभा
तपाईँको नलिखुट्टा बालेर
गर्नु परिवर्तनकामी राँके जुलुस
तपाईँको करङ निकालेर टुथपिक बनाउनु
र भ्याउनु गोष्टि सेमिनारका व्यञ्जन,
तपाईँको छाला छिलेर ढुङ्ग्रो बनाउनु
र त्यहि ढुङ्ग्रोमा फुक्नु भाषण समृद्धिको ।

अब तपाईँको बन्द स्वर बौलाउन थाल्छ,
डढेको आँखा कुहुन्छ,
नलिखुट्टा, आन्द्रा भुँडी, छाती, टाउको, थरररररर काँपेर
उपद्रो मच्चाउन थाल्छन्
अनि तपाईँको एकएक – हरेक अंग बेकामे बन्छन मेरो लागि
र तपाईँलाई फालेर इतिहाँसको अध्याँरो ब्ल्याहोलमा,
म तपाईँका सन्तानलाई पढाउनु विद्यालयमा,–
“क्या थियो मेरो त्यो सन्नटा शान्ति,
क्या थियो मेरो त्यो युगिन क्रान्ति,
क्या थियो मेरो समृद्धिको सत्प्रयास,
वाह, वाह क्या थियो त्यो मेरो सुन्दर लोकतन्त्र !”

प्रतिक्रिया