Hamroprayas

बुटवल ।

पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आगामी मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा टिमगरी १२ समूहको सहभागिता रहने बताइएको छ

 

 

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तिन विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९का दुई टिम गरि १२ टिमको सहभागिता हुने जानकारी दिए ।

.प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताए । आइसिसीको नियम अनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ गते जननेता मदन भण्डारीको नाममा स्थापना भएको एकेडेमीले मुलुकको खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने–‘युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशाशित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्य अनुरूप यसले आफ्ना सिर्जनात्मक गतिविधिहरू अगाडि बढाइरहेका छौं ।’ उनले आयोजना हुने टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता त्यसैको एक शृङ्खला समेत रहेको बताए । उक्त प्रतियोगिता हरेक वर्ष विभिन्न प्रदेशमा आयोजना हुने गरि तय गरिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेकी क्रिकेट विभाग प्रमुख शक्ति गौचनले क्रिकेट खेलको विकासका लागि एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा हुने प्रतियोगिताले सबै खेलाडीहरुलाई हौसला दिने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update