बुटवल,मंसिर ५
नेकपा एमाले रुपन्देहीले भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पुनःनिर्माणमा सघाउन स्वयंसेवक पठाएको छ ।एमालेले भूकम्पबाट सयौं भौतिक संरचना भत्किएर क्षति भएको पश्चिम रुकुमको बिसकोट नगरपालिकामा तत्कालको लागि अस्थायी घरटहरा निर्माणका लागि भन्दै रुपन्देहीबाट २० जना स्वयंसेवकको टोली पठाएको हो ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले मंसिर ५ गतेदेखि आगामी १७ गतेसम्म निरन्तर सर्वसाधारणका भत्किएका घरटहरा निर्माणका लागि २० जना स्वयंसेवकको टोली पठाएको जानकारी दिनुभयो ।अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रमा काम गर्न आवश्यक पर्ने गैंती, बेल्चा, हाते आरा, हथौडा, खुर्पा लगायतका औजार तथा स्वयंसेवकहरुको सुरक्षाको लागि ज्याकेट, पञ्जा, हेलमेट लगायतका आवश्यक सामग्री र खाने बस्ने खर्च समेतको व्यवस्था गरि पठाईएको जानकारी दिनुभयो ।
अध्यक्ष केसीले यसअघि २०७२ सालको भूकम्पबाट ध्वस्त बनेका संरचनाको पूनर्निर्माणको लागि समेत स्वयंसेवक खटाईएको उल्लेख गर्दै अहिलेपनि त्यति बेला काममा खटिएका अनुभवी स्वयंसेवकहरुलाई पठाईएको जानकारी दिनुभयो । अध्यक्ष केसीले विगतमा जस्तै यसपटक पनि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको घाउमा मल्हम लगाउने गरी अनुशासित भएर काम गरेर फर्किन टोलीमा सहभागीहरुलाई निर्देशन दिनुभयो । नेकपा एमालेले यसअघि नै भूकम्प प्रभावित क्षेत्रमा एकहजार एकसय जना स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । स्वयंसेवकहरुले भूकम्पले भत्काएका घरभित्रका सामानहरु निकाल्ने, भग्नावशेष पन्छाउने र जमिन सम्याएर अस्थायी घरटहरा बनाउने काम शुरु गरेका छन् ।
पार्टी केन्द्रको तर्फबाट एकहजार र प्रदेशका एकसय गरी ११ सय स्वयंसेवक भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा खटिएको रुपन्देही अध्यक्ष केसीको भनाई छ । गत कात्तिक १६ गते राती जाजरकोटको रामीडांडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पमा परी एकसय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पका कारण २६ हजार पांच सय ५७ निजी घर पूर्णरुपमा ध्वस्त भएका थिए ।