पाल्पा,मंसिर ६
जापानको टोक्यो विश्वविद्यालयका प्रोफेसर डा.हरुताका साकाइलाई तिनाउ गाउँपालिकाले मंगलवार दोभानमा नागरिक सम्मान गरेको छ । गाउँपालिकाले उहाँलाई पहिलो पटक उक्त सम्मान गरेको हो ।
सन् १९९९ देखि सन् १०१५ सम्म पाल्पाको साविक मस्याम गाविसको डुम्रेमा भूगर्भशास्त्रीका रुपमा रहँदै स्थानीय मस्याम माध्यमिक विद्यालयको भैतिक संरचना निर्माण,विज्ञान प्रयोगशाला खरिद एवम् व्यवस्थापन,सरस्वती आधारभूत विद्यालयको भवन निर्माण र स्थानीय महिला भवन निर्माणमा समेत उल्लेखनीय आर्थिक,भौतिक एवम् नैतिक सहयोग जुटाउन सक्दो सहयोग गरेको भन्दै तिनाउ गाउँपालिकाले सो सम्मान गरेको हो ।
सम्मानित व्यक्तित्व प्रा.डा. साकाइले आफ्नो सपना निमुखा मस्यामबासीका सन्तानले समेत साइन्स पढन् सकून् भन्ने थियो र छ । महिलाहरुलाई सशक्तीकरण गर्न सकियोस र मस्याम,सरस्वती विद्यालयको भौतिक प्रगतिका लागि आफूहरुले गरेको सहयोग पूर्णरुपमा प्रयोग हुन सकेमा खुसी हुने बताउनुभयो । उहाँले विगतमा यस क्षेत्रमा रहेर गरेका सबै किसिमका सहयोगहरुको पावर पोइन्टमार्फत प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले प्रा.डा.साकाईबाट आफूहरुले हिजोका दिनमा सक्दो सहयोग पाएको,यतिबेला सम्बन्ध टुटेको र भविष्यमा सम्बन्ध स्थापित गर्न आफूहरु तयार रहेको बताउनुभयो । साथै उहाँले तिनाउ गाउँपालिका कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गर्न घनिभूत छलफलमा लागेको र छिट्टै सो विषयको जानकारी सबैका लागि प्रसारित गर्ने बताउनुभयो ।
कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अघिकृत लेखबहादुर बस्नेतले शिक्षालाई व्यवस्थित गर्दै अघि बढ्नका लागि साकाईको सहयोगको निरन्तरताको अपेक्षा समेत गर्नुभएको थियो । शिक्षा समिति,तिनाउका सदस्य दलबहादुर गुरुङले प्रा.डा. साकाइको योगदानलाई सम्मान गर्दै तिनाउमा थप योजनावद्ध शिक्षा विकासमा सबै लगाउनु पर्नेमा जोड दिनुभयो । साकाईको सपनालाई पूरा गर्न तिनाउले सक्दो प्रयास र अभ्यास गर्नुपर्ने बताउनुभयो । प्रा.डा.साकाईले तिनाउबासीहरुलाई छात्रवृत्ति र वृत्ति विकासका काममा सहयोग गर्दै आएका र पुनः सहयोगका लागि वातावरण अनुकूल बनाउन पालिकाले भूमिका निर्वाह गर्नुपर्ने गुरुङले अनुरोध गर्नुभयो ।
कार्यक्रममा टोमबहादुर पुन,राजेश श्रेष्ठ,गोपाल श्रेष्ठ,चक्रव्यूह थापा,प्रेम पाण्डेय,कृष्ण पाण्डेय,दमबहादुर कार्की,बुद्धबहादुर बस्नेत,लक्ष्मी कुँवर लगायतले साकाईको उच्च प्रशंसा गरेका थिए । सहभागी वक्ताहरुले साकाईको नागरिक सम्मान गाउँपालिकाले गर्नु उत्तम रहेको बताउँदै उहाँको योगदान तिनाउबासीले कहिल्यै नभूल्ने समेत बताउनुभयो । सम्मान कार्यक्रममा सम्मानित ब्यक्तित्व प्रा.डा. साकाई लगायत सबै अतिथिहरुलाई गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले स्वागत गरेका थिए ।