Hamroprayas
 संकटमा साबित्रा 

बुटवल,मंसिर ७
बिहे हुँदा १७ वर्षकी किशोरी थिइन सावित्रा गुरुङ ।  कक्षा १० पढ्दै गर्दा २०६६ सालको जेठमा नवीन रानासँग उनको अन्तर्जातीय बिहे भयो  । साविक दोभानको झ्याङ्गला गाउँमा उनको जन्म भएको थियो । अहिले यो गाउँ तिनाउ गाउँपालिकाको वडा नं. २,दोभान,पाल्पामा पर्छ । सावित्राका दुई छोरा छन् । ठूलो छोराले नौ कक्षामा र सानोले सात कक्षामा  तिनाउ गाउँपालिका वडा नं १ कचलफाँटमा रहेको युवावर्ष माविमा पढ्दैछन् । साबित्रा आफूले पनि पढाइलाई निरन्तरता दिइरहेकी छिन् । 

साबित्रा सामाजिक एवम् राजनीतिक कार्यकर्ता हुन् । गएको स्थानीय निर्वाचनमा तिनाउ गाउँपालिकामा उनको पार्टीले साबित्रालाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो । गठबन्धनसँगको कडा प्रतिस्पर्धामा  झिनो मतले उपविजेता हुने अवसर पाइन् । पार्टीमात्र होइन उनको लगाव सामाजिक क्षेत्रमा समेत बेस्सरी छ । 

गाउँमा बिरामी भएपनि साबित्रा । कसैका नागरिकता बनाइ दिन परेपनि जिल्ला लैजाने साबित्रा । कसैका विहेभोजको प्रबन्ध गरिदिन पनि साबित्रा । कसैका घरमा झगडा भएपनि साबित्रा । वनमा,सहकारीमा,स्कूलमा,महिला समूहमा,बाटो,कूलो,धारा,पँधेरा वा खेतीकिसानी सबैतिर साबित्रा । सानै उमेरमा उनले कमाएको सम्पत्ति भनेकै सबैको हाइहाइ र प्रतिष्ठान नै हो । साबित्रालाई समाजले चिनेको छ । मानेको छ । 

आफ्नो पार्टीले भूकम्प पीडितहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत रहेर उनी यतिबेला पश्चिम नेपालको आठबीस नगरपालिका वडा नं. १३ घेटमा गाउँमा भत्किएका घरहरुलाई पुनर्निर्माणमात्र होइन,विक्षिप्त गाउँलेहरुका घाउमा मलमपट्टी लगाउन पुगेका छन् । संकटले ग्रस्त बनाइरहेको बेला साथ दिन साबित्रा पुगेकी छिन् । 

आँटिली र साहसी साबित्राले सक्दो काम गरिरहेकी छिन् । गाउँलेहरुसँग मन साटेकी छिन् । दुःखका बेला आँसु पुस्न र भावना साट्न त्यतै पुगेकी छिन् ।घरबारमात्र भत्केको छैन,आफन्तका मृत्युले भावविह्वल भएर मन समेत टुटेका छन् कतिका । सहाराविहीन भएका छन् थुप्रै । चिसो स्याँटसँगै आकास ओढेर सुत्नेहरुलाई स्नेहिल प्रेमको न्यानो सिरक बाँडिरहेकी छिन् । भोकाएका मान्छेहरुलाईमात्र होइन, पशुपंक्षीहरुलाई समेत सहारा दिइरहेकी छिन् उनले । भाँचिएका भाटाहरुमात्र होइनन् । ढलेका घरहरुमात्र होइनन् । बरु ढलेका छन् उनीहरुका मन । टुक्रिएका छन् ।उनीहरुका करङहरु । च्याँपेर घरका दिवालहरुले क्षतविक्षत भएका शरीरमा आशा र सपनाको धरहरा उभ्याउन पुगेकी छिन् साबित्रा ।

उनीसँग पाल्पा जिल्लाका संघीय सांसद माननीय नारायण आचार्य छन् । त्यतिमात्र होइन उनीसँग देवीलाल लामिछाने, लालबहादुर दर्लामी,रोमबहादुर लम्तरी,शंकर गौतम,रमा श्रेष्ठ, कमल भट्टराई,सन्देश ढकाल,सुमन पोखरेल,राजेश भट्टराई,जीवन घिमिरे,देवबहादुर सारु,लिलबहादुर दिशा,रमेश भट्टराई समेत पुगेका छन् ।  

पार्टीका नेता,कार्यकर्ता,शुभचिन्तक र समर्थकहरुकाबीच आफू र घरपरिवारलाई भूलेर पीडितहरुका निम्ति सहयोगी बनेर सेवा गरिरहँदा साबित्राले सेवाका लागि अवसर जुटाई दिने पार्टीप्रति कृतज्ञ भएको सुनाइन् ।  आफ्नो पार्टीलाई धन्यवाद् समेत दिइन् । १२ दिनका लागि भूकम्प पीडितहरुसँगै रहने बाचासहित त्यता पुगेकी साबित्रालाई छिट्टै फर्किने मन छैन । उनीहरुका घर ठड्याएर, घाउमा माम्री लागेपछि फर्किने सोचमा छिन् ।भूकम्प पीडितका अभाव र पीडाले शोकमा छिन् । साबित्राले शोकलाई शक्तिमा बदल्ने प्रण गरेकी छिन् । 
 


 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update