बुटवल,मंसिर ९
लैगिंक हिंसा अन्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र UNITE INVEST TO PREVENT VIOLENCE AGAINIST WOMEN & GIRLS भन्ने अन्तराष्ट्रिय नाराका साथ मङ्सिर ९ गते शनिवारबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
पछिल्लो समय बिभिन्न हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
यसैबिच
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा राप्ती उपत्यका देउखुरीमा बिशेष कार्यक्रमको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । रुपन्देहीमा रहेका सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले अभियानलाई केन्द्रित गरि १६ दिन सम्म फरक फरक प्रकृतिका कार्यक्रम आयोजना गरेको जनाएका छन् ।