Hamroprayas
जनतासँग जनप्रतिनिधि

पाल्पा ,मंसिर ९ 
गत कार्तिक २४ गते संघीय सांसद माननीय ठाकुर प्रसाद गैरे जनतासँग जनप्रतिनिधिसँग कार्यक्रममा पाल्पा,तिनाउको ऐतिहासिक एवम् पर्यटकीय थलो नुवाकोट पुगेका थिए । उनीसँग वडा नं. २ का वडाध्यक्ष एवम् तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल र सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङ समेत पुगेका थिए । 

लुम्बिनी प्रदेशको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न नुवाकोट डबली पुग्दा त्यहाँ घाँस उम्रिएका थिए । सिरु फुलेका भेटिन्थे । स्थानीय किसानले घिरौंला फलाएका थिए । पानीको मूल कुनाको नालीबाट नतारेकै कारण डबलीमा पानी बगेकै थियो । लेऊ लागेकै थिए । अवस्था कुरुप देखेरै होला माननीयले सो डबलीको जिम्मा पाएका डिभिजन वन कार्यालय,पाल्पाका हाकिम नारायणदेव भट्टराईलाई डबलीको सरसफाइ, हस्तान्तरण प्रक्रियाका बारेमा चासो राखेका थिए मोबाईलमार्फत । उनीहरुकाबीच के कुरा भए हेक्का भएन । 

मंसिर ९ गते शनिवारका दिन स्थानीयहरुले डबली वरिपरि सरसफाइ गरे । त्यसको नेतृत्व स्थानीय नुवाकोट महिला समूहकी अध्यक्ष इन्द्रकुमारी पेमी र सचिव हरिकला कुमालले गरेका थिए । विहान ११ वजेदेखि सरसफाइ सुरु भई दिउँसो चार बजेमात्र सम्पन्न भएको थियो । स्थानीय महिला समूहका २५ जना महिला र पुरुषहरुले समेत सहयोग गरेका थिए । 
डबली सफा भएपछि नुवाकोटमा पर्यटक आकर्षित हुने सचिव हरिकलाले बताइन् । साथै सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले सरसफाइमा सहभागी स्थानीय महिला समूह र सहयोगी सबैप्रति कृतज्ञता प्रकट गर्दै आफ्नो गाउँको हरियाली प्रवद्र्धन,सरसफाइ र सुन्दरतामा सबैले ध्यान दिएमा उत्तम हुने बताए । 

उक्त सांस्कृतिक डबलीलाई स्थानीय सरकार वा स्थानीय संघसंस्थाहरुलाई समयमै हस्तान्तरण हुन सकेमा बनेको सांस्कृतिक डबलीमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सम्भव हुने थियो । साथै नुवाकोटमा आउने पर्यटकहरुका बसाइ लम्बाउन सकिने नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले सुनाए । 

नुवाकोटमा भैरवकामना मन्दिर,काठेगढी,तोपहान क्षेत्र,भ्यू टावर,रानी कुवा र उजिर पार्क छँदैछन् भने निकट भविष्यमा नै बुटवलदेखि केवलकार आइपुग्दैछ । होटल व्यवसायीहरुले आआफ्ना होटलहरु सञ्चालन गर्दै आइरहेका छन् । नुवाकोटमा यतिबेला फोहोर बढ्दैछ भने सुरक्षाको खाँचो स्थानीयहरुले महसुस गर्न थालेका छन् । उक्त सबै कुराका बारेमा स्थानीयहरुले स्थानीय वडापालिका र केन्द्रीय सांसदलाई जनतासँग जनप्रतिनिधि कार्यक्रममा बताएका थिए । 

स्थानीयहरुलाई गाउँको सुन्दरता राख्न विना वजेट आफै गर्न सकिने सरसफाइ कार्यक्रम गर्न अनुरोध गर्दै बाटो,पानी लगायतका विकास निर्माणमा आफूले वजेटका निम्ति पहल गर्ने बताएका थिए । उनको अनुरोधलाई डबली सरसफाइ गरेर स्वीकार गरेका छन् भने अब उनले वजेटमार्फत गाउँको विकासमा टेवा दिनुपर्ने स्थानीय युवा दिनेश थापा र लक्ष्मण कुमालले बताएका छन् । 

यस्तो सरसफाइका कार्यक्रमहरु नियमित रुपमा स्थानीय महिला समूह,युवा क्लव,सामुदायिक वन,स्थानीय नुवाकोट विकास समिति,मन्दिर व्यवस्थापन समिति,होटल व्यवसायीहरुले गर्दा जाती हुने थियो कि ? 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update