Hamroprayas
माथागढी गाउँपालिका पाल्पामा लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान

बुटवल,मंसिर १० 
माथागढी गाउँपालिका,पाल्पाले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान झडेवामा आईतवारदेखि सुरु गरेको छ । अभियानको ओैपचारिक सुरुवात् माथागढी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चे मगरले प्रभातफेरि कार्यक्रमसँगै गर्नुभयो ।गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी ,स्थानीय महिला समन्वय समितिको विशेष उपस्थितिमा गाउँपालिकाको भवनदेखि बजार क्षेत्र र किसान मावि परिसरसम्म पुगेर र्याली सम्पन्न भएको थियो । 

उक्त र्यालीमा सहभागीहरुले लैङ्गिक हिंसा अन्त्य गरौ,महिला पुरुष बराबरी, बिहेवारी –२० वर्ष पारि लगायतका नारा समेत लगाएका थिए । ओैपचारिक कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुङ्चे मगरले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानलाई गाउँगाउँ र टोलटोलमा पुराई हिंसाको दरलाई घटाउन सबैले सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । हिंसालाई सहन नहुने,हिंसा रोक्न सबैले प्रयत्न गर्नुपर्ने र अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सबैसँगको हातेमालो आवश्यक रहेको मगरले बताउनुभयो । 

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे,महिला शाखा प्रमुख पुनम चिदी,चेतकुमारी ढकाल,लिला चिदी लगायतले लैङ्गिक हिंसा विरुद्वको अभियानलाई राम्रोसँग सञ्चालन गरि लैङ्गिक हिंसामुक्त गाउँपालिका बनाउन आफूहरु आतुर रहेको बताएका थिए । 

ओैपचारिक कार्यक्रमपछि पालिकाले महिला सशक्तीकरणका लागि सक्षमता अभिवृद्धि तालिमको आयोजना समेत गरेको छ ।उक्त तालिममा लैङ्गिक हिंसा विरुद्धको अभियानको ऐतिहासिकता,नेपालको वर्तमान परिवेश,महिला हिंसाका कारण,असर र उपचारका विधि,महिला सशक्तीकरणका पाईलाहरु र आर्थिक समृद्धिका लागि उद्यमशीलता विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र सहकारीकर्मी बेनप्रसाद थापाले आईतवार सहजीकरण गर्नुभएको छ।

त्यसै गरि संस्कृति संरक्षणमा महिला,सञ्चारमा महिला र महिला पहिला कसरी विषयमा सञ्चारकर्मी रीमा गाहा लगायतले सोमवार सहजीकरण गर्ने कार्यक्रमको संयोजक बिष्णु जीसीले जानकारी दिनुभयो ।  सोही अभियानको प्रसंगमा तयार पारिएको शिलाचित्र गाउँपालिकाकी उपाध्यक्षलाई कलाकार बेनुले उपहार प्रदान गर्नुभएको थियो । 


 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update