बुटवल,मंसिर १२
२०५१ सालतिर रुपन्देहीको कञ्चन गाउँपालिका,गर्गरेचोकमा उत्तर कोरियाको भ्रमण अनुभव सुनाउँदै साहित्यकार मोदनाथ प्रश्रितले भनेका थिए–उत्तर कोरिया जाने मौका मिल्यो । त्यहाँको एउटा तीन तले भवनको बीच तलामा प्रोफेसरले ईञ्जिनियरिङ् विषय पढाइ रहेका थिए । एक्कासी हावा,बतासँगै आकास गड्याङ्गुडुङ् ग¥यो । प्रोफेसरले आफ्ना विद्यार्थीलाई खेतका गह्राहरुमा लगे । त्यहाँ बाँधेर राखिएका गहुँका मुठाहरु सबै ओत लाग्ने ठाउँमा राखेपछि पुनः कक्षामा फर्किए । प्रोफेसरले भनेका रहेछन्–यदि यो गहुँ,हामीले नउठाएको भए पानीले भिज्थ्यो । किसान मर्कामा पर्थे अनि हामीलाई पनि असर पथ्र्यो । यो कुराले मलाई अहिलेसम्म झन्का दिइरहन्छ । गत महिना पश्चिम रुकुम र जाजरकोटमा भूकम्प गयो । केही मानिसहरु मरे । धेरै स्थानीयहरु घाइते छन् । उपचार गराई रहेका छन् । केहीले पालमूनि तेल,बेसार दलेर आफ्ना घाउहरु सञ्चो गराइरहेका छन् । शरीरका घाउमा माम्री लाग्दैछन् तर मनका घाउ अझै पोल्दैछन् । जल्दैछन् । मुखका मलहम लगाउनेहरुसँग उनीहरु बोल्न रुचाएका छैनन । बरु उनीहरुसँगै दिनरात बस्ने,कुरा सुन्ने,भत्किएका घरहरु ठड्याइदिनेहरुसँग मन साट्न थालेका छन् ।
त्यही क्रममा पाल्पाबाट, टोलीको नेतृत्व गर्दै संघीय सांसद नारायण आचार्य १५ जना साथीहरुसँगै पश्चिम रुकुमको आठ बीसकोट नगरपालिकाको वडा नं. १३ घात्मे गाउँमा पुगेका छन् । टोलीमा रामपुरकी रमा पनि पुगेकी छिन् । रमाको घर पूर्वीपाल्पाको रामपुर नपाको वडा नं. ४ देवीस्थानमा पर्छ । यतिबेला मोदनाथ प्रश्रितले सुनाएको अनुभवजस्तै उनी आफ्नो एमविएस अन्तिम सेमेष्टरको पढाइ छाडेर स्थानीयहरुका भत्किएका घरहरुमात्र होइन चोइटिएका मनहरुमा बास बस्न पुगेकी छिन् । टहरा ठड्याएकी छिन् ।
स्थानीयहरुका सिस्नुघारीमा सिस्नु टिप्न पुगेकी छिन् । भत्किएको जनजागरण माविलाई सफाइ गर्दैछिन् ।
टहरो त बने तर सरकाले टीनका पाताहरु नपठाइदिएका कारण भूकम्पपीडित गाउँलेहरु आकासका सिरक ओढन बाध्य छन् । चिसो धरतीलाई ओछ्यान बनाउन परेको छ । कैयौं दिन पीडितहरुले चाउचाउ र चिउरा खाएर दिनरात बिताए । भूकम्पले पानीका मुहानहरु कता पुराएदिए थाहै छैन । धारापँधेरा भत्किएका छन् । पानीको अभाव छ । सुरक्षित शौचालयको अभावले सरुवा रोग फैलिन्छ कि भनेर एकाउण्टको विद्यार्थी समेत रहेकी रमाले हिसाव गर्दैछिन् ।
रोइरहेका गाउँलेहरुसँग रामपुरकी रमा काम गर्दैछिन् । उनीहरुका दुःख सुनेकी छिन् । पीडा बुझेकी छिन् । सक्दो सहयोग गरिदिएकी छिन् । साना नानीबाबुहरुलाई काखमा समाएर खुसी बनाएकी छिन् । उनीहरु पुगेको गाउँमा परदेश गएको लाहुरेलाई घरकी लाहुरेनीले पर्खिजस्तै भएको छ बिजुलीका पोलहरु ! गाउँघर अन्धकार छन् ।
रमा विद्यार्थी हुन् । यतिबेला उनी लुम्बिनी प्रदेशको अनेरास्ववियूकी सदस्य छिन् । शहिद बहुमुखी क्याम्पस,रामपुरमा गत चैत्रमा भएको स्ववियू निर्वाचनमा सचिव बन्ने भनेर चुनाव लडेकी थिइन् । समय र साथीहरुका भोटले साथ दिएन उनलाई । उपविजेता बनेकी छिन् । हारलाई जितमा उतार्ने उनको संकल्पमा कुनै शंका गर्ने ठाउँ छैन । दुई दिदीबहिनी र दुई दाजुभाइका कान्छी बहिनी रमा श्रेष्ठका बाबा भीमबहादुर र आमा मायादेवी हुन् । यतिबेला उनले भूकम्प गएको बस्तीबाट सम्झिरहेकी छिन् । परिवारको मायालाई मझेत्रोमा पोको पाकेर भूकम्पपीडितहरुका आँसु पुछिरहेकी छिन् । गैंटी र बेल्चा समाउँदा परेका ठेलाहरु दिदी साथी सावित्रालाई देखाउँदै भावुक हुन्छिन् र भन्छिन्–पीडितहरुका निम्ति गरिएको श्रम र बगाइएका पसिनाहरु मेरा लागि प्रिय छन् ।
एउटा नेपालीलाई परेको पीडा अर्को नेपालीले समाधान गर्ने प्रयास गर्नु नै लाख हुँदोरहेछ । जनताप्रतिको कर्मले म खुसी छु । अविवाहित रमाका रहरहरु धेरै होलान् तर यतिबेला पीडितहरुका मनमा मलहम लगाउँदै समय बितेको हेक्का नै छैन । गाउँलेहरुसँग मन साटेकी छिन् । दुःखमा मन मिसाएकी छिन् । रहरहरुलाई मनका थैलामा बाँधेर जनताका सेवामा समर्पित भएकी छिन् । यो नै उनको पार्टीले सिकाएको गतिलो पाठ रहेछ । भविष्यमा जनताका सेवा गर्ने उत्कष्ट रहर बोकेकी रमा,यतिबेला पश्चिम रुकुममा जनताका काम गर्दैछिन् ।