बुटवल,मंसिर १५
नेपाल रेडक्रस सोसाईटी,बुटवल उपशाखाको आयोजना र न्यू होराईजन आव।सीय माध्यमिक विद्यालय,बुटवलको आतिथ्यतामा उपशाखास्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता शुक्रवार बुटवलमा सम्पन्न भयो । मानवीय सेवा : जुनियर तथा युवा शीर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा न्यू होराइजन आवासीय माविकी छात्रा प्रतिका रिजालले प्रथम स्थान हासिल गरेकी थिइन् । त्यसैगरी दीप बोर्डिङ्ग स्कूलकी आशिका थापाले दोस्रो भइन् । त्यसैगरी विकल्प विश्वकर्माले तेस्रो स्थान हासिल गरेका थिए । उनी कान्ति मावि,बुटवलका छात्र हुन् । सान्त्वना हुने अवसर स्कलर्श होमका राजन केसीले प्राप्त गरेका थिए ।
निर्णायक मण्डलको संयोजकका रुपमा साहित्यकार एवम् कवि दलबहादुर गुरुङ हुनुहुन्थ्यो,भने सदस्यका रुपमा गजल सागर नेपालका अध्यक्ष कृष्ण गाउँले हुनुहुन्थ्यो । साहित्यकार दलबहादुर गुरुङले वाचित कविताहरुका समालोचना र आफ्ना दुईवटा कविता समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेलले विद्यार्थीका कवि मनहरुलाई प्रस्फुटित हुने अवसर रेडक्रसले दिएको बताउँदै जीवनमा आफूलाई पनि कवि हुने रहर जागेको बताउनुभयो । उक्त कविता प्रतियोगिता कार्यक्रममा न्यू होराईजन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यक्ष, सहप्राचार्यहरु,रेडक्रस शिक्षक नायक,विभिन्न विद्यालयबाट प्रतियोगितामा सहभागी शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति थियो । कार्यक्रममा रेडक्रसका सिद्धान्तका बारेमा जुनियर रेडक्रस सर्कल,होराइजनकी निर्देशक सिन्जिदा खानले बताएकी थिइन् । कार्यक्रमको सञ्चालन छवि मिश्राले गरेकी थिइन भने कार्यक्रमको अध्यक्षता प्रिन्स खत्रीले गरेका थिए ।