बुटवल,मंसिर १६
हाम्रो समाजमा महिलाहरू अपहेलित छन्, विभेदग्रस्त छन् । हामी सबै मिलेर समाजमा रहेको यस्तो विभेद अन्त्य गर्नु पर्दछ । हामी सबैलाई थाहा छ— अहिलेको नेपाली समाजलाई महिला अधिकारको आँखाले हेर्दा सन्तोषजनक रूपमा महिलामैत्री छैन । भनिन्छ, ‘समस्या जहाँ छ, समाधान त्यहीँ खोज्नु पर्दछ ।’ नियम, कानुन, सभ्यहरूको सहभागिताका सभा—सम्मेलनका भाषणहरूमा बाहेक महिलाहरूप्रतिको बोली, व्यवहार समतामूलक छैनन् । नियम—कानुन पनि पूर्ण रूपमा महिलामैत्री त छैन, तर यो सुधारको तीव्र प्रक्रियामा भने रहेको देखिन्छ । दिन प्रतिदिन सुधारोन्मुख अवस्था छ । अन्य सबैतिरका समस्या समाधान भएर महिला क्षेत्रको मात्र समस्या समाधान हुन बाँकी रहेको होइन भन्ने कुरा पनि सबैले बुझ्न आवश्यक छ ।
अहिलेको समाज, अहिलेका नियम, अहिलेका व्यवहार, अहिलेका वचन आदि फेर्नै पर्दछ । यो परिवर्तनको प्रक्रियामा महिला मात्र होइन, समतामूलक समाजको पक्षमा रहेका पुरुषहरू पनि सहभागी हुनै पर्दछ । विभेदरहित समाज सुन्दर र सभ्य समाज हुन्छ । यस्तो समाज निर्माणमा नारी मात्र किन र ? पुरुष पनि उत्तिकै तत्परतासाथ लाग्नु पर्दछ । नत्र पुरुष अधिकार खोस्ने वर्गमा परिन्छ र नारी मुक्ति आन्दोलनको निशाना बनिन्छ । घर—घरमा थप अशान्ति हुन्छ । यो अशान्तिबाट समाजलाई जोगाउन र समतामूलक, सभ्य समाज निर्माण गर्न पुरुषहरूको सोच, विचार र भूमिका महिला अधिकार मैत्री हुनु आवश्यक छ । कतिपय मानिसहरू महिला उत्पीडनको कारण धर्मशास्त्रहरू भएको बताउँछन् । हिन्दु धर्मका आधार ग्रन्थहरू— वेददेखि पुराणहरूसम्म हेर्नुभयो भने त्यस्ता कुराको केही पुष्ट्याइँ पाइँदैन । धर्म र धर्मशास्त्रलाई देखाएर महिला हिंसाको औचित्य साबित गर्न त्यसो गरेका हुन् भने ती बिचराहरूलाई के भन्नू र ?
महिला हुन् वा पुरुष अहिलेको समाज धर्मशास्त्रबाट शासित वा निर्देशित छैनन् र हुन बाध्य पनि छैनन् । यदि कुनै वर्ग, क्षेत्र, समुदायविशेष शोषित, उत्पीडित, अपहेलित छन् भने ती कुराको जिम्मेवारी धर्म, धर्मशास्त्र, सँस्कृतिलाई दिनु भनेको आपूm दायित्वबाट उम्कनु र पीडितहरूलाई मूर्ख बनाउनु बाहेक अरू केही होइन । सँस्कृति कुनै पुस्तक या मानवनिर्देशित हुँदैन । पुस्तकहरू त ती विषयका पुराना लिखत हुन सक्दछन्, निर्देशन होइन । आजको समाज शास्त्रनिर्देशित, धर्मनिर्देशित होइन, कानुननिर्देशित, विधिद्वारा शासित छ र उत्पीडन, अपहेलना, विभेद आदि पनि राजकीय नीतिको माध्यमबाट उच्छेद गरिनु पर्दछ । नीतिको लागि नेतृत्व छ, प्रक्रियाका लागि प्रशासनयन्त्र छ र अभ्यासका लागि तपाइँ स्वयं हुनुहुन्छ ।
साँस्कृतिक हिसाबले हेर्दा महिलाहरूको स्थान उच्च रहेको पाइन्छ । भूमि, धर्ती वा पृथ्वीलाई माता भनिएको छ । माता भूमि तव पुत्रोऽहं पृथिव्या ! अर्थात् हे भूमि माता म तपाइँको छोरो हुँ र तपाइँ माता ।प्रायः सबै पूजा विधानमा मातृकाहरूको पूजा गरिन्छ । सप्तमातृका भनेर १.ब्राह्मी २.माहेश्वरी ३.कौमारी ४.वैष्णवी ५.बाराही ६.इन्द्राणी ७.चामुण्डाको पूजा गरिन्छ । यी देवीहरू महिला नै हुन् ।
व्रह्मवैवर्तपुराणमा त षोडश मातृकाको उल्लेख यसरी गरिएको छ :‘स्तनदात्री गर्भधातृ भक्ष्यदातृ गुरूप्रिया । अभीष्टदेवपत्नी च पितुःपत्नी च कन्यका ।। सगर्भजा च भगिनी पुत्रपत्नी प्रियाप्रसूः । मातुर्माता पितुर्माता सोदरस्य प्रिया तथा ।। मातुःपितुश्च भगिनी मातुलानी तथैव च । जनानां वेदविहिता मातरः षोडशः स्मृताः ।।
अर्थात्, स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदी—बहिनी, सहोदर दिदी—बहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजु÷भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन्’ भनिएको छ र यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ । प्रायः सबै शुभकार्यमा षोडशमातृकाको पूजा हुन्छ ।१.शैलपुत्री २.ब्रह्मचारिणी ३.चन्द्रघण्टा ४.कुष्माण्डा ५.स्कन्दमाता ६.कात्यायनी ७.कालरात्री ८.महागौरी ९.सिद्धिदात्रीका रूपमा नवदुर्गाको पूजा हुन्छ । यी नवदुर्गा हुन् यी सबै नारी त हुन् । शक्तिशाली भनिने देवताहरूले पनि नसकेका युद्ध यिनीहरूले जितेको भनिएको छ ।
नारीलाई देवी मानिएको छ । समृद्धिकी देवी लक्ष्मी, ज्ञानकी देवी सरस्वती, शक्तिकी देवी दुर्गा आदि मानेर सम्मान गर्ने संस्कृति छ । अझ थप सबै प्राणीहरूमा व्याप्त विष्णुमाया, चेतना, बुद्धि, निद्रा, क्षुधा, छाया, शक्ति, तृष्णा, क्षान्ति, जाति, लज्जा, शान्ति, श्रद्धा, कान्ति, लक्ष्मी, वृत्ति, स्मृति, दया, तुष्टि, मातृ, भ्रान्ति, इन्द्रियहरूकी अधिष्ठात्री आदि भनिएको छ । कुमारी—कन्याका रूपमा नारीलाई पूजिन्छ ।
न्यायका लागि लडिने लडाइँ न्यायसम्मत नै हुनुपर्दछ । अहिलेको आर्थिक राजनीतिक परिवेशमा महिलाहरू अन्यायमा परेका—रहेका छन्, तर यसको दोष वैदिक सनातन धर्म संस्कृतिमाथि थोपर्नु आफैमा घोर अज्ञानता, अन्याय र पूर्वाग्रह हो ।
अन्यायको घटना जहाँ भएको होस्, त्यसको विरोध सबैतिर, सबैले गर्नु पर्दछ । विभेद र अन्याय, अत्याचार, उत्पीडन जहाँ होस् त्यसको अन्त्य हुनै पर्दछ । ल्याटिन अमेरिकी देश डोमिनिकन गणराज्यका शासकको अत्याचारका विरुद्धमा मानवअधिकार तथा लोकतान्त्रिक राजनीतिक अधिकारका लागि आन्दोलनरत पेटिया, मिनार्गा र मारियाको त्यहाँको सरकारद्वारा गरिएको हत्या गरिएको थियो ।
त्यहाँ महिलाहरूलाई कुनै प्रकारको राजनीतिक अधिकारमाथि बन्देज थियो । शासकीय बन्देज विरुद्धको सङ्घर्षका क्रममा मारिएका ती तीनै जना राजनीतिक अधिकारकर्मी महिलाहरू एकै घरका—दिदीबहिनी थिए । यो हत्याकाण्ड सन् १९८१ नोभेम्बर २५ मा भएको थियो । पेटिया, मिनार्गा र मारियाको आन्दोलनप्रति ऐक्यबद्धता तथा उनीहरूको हत्याको विरुद्ध सुरु भएको यो आन्दोलनले अन्तर्राष्ट्रिय रूप लियो । नेपालमा पनि यो अभियान सन् १९९७ देखि सरकारी स्तरमा समेत सञ्चालनमा छ ।
जहाँ विभेद हुन्छ, त्यहाँ अन्याय हुन्छ, उत्पीडन हुन्छ । विभेद, अन्याय, अत्याचार उत्पीडनका विरुद्धमा आन्दोलन अभियानहरू चलाइनुपर्दछ । यही मान्यता अनुसार प्रत्येक वर्ष नोभेम्बर २५ देखि सुरू भई १० डिसेम्बरसम्म चलाइने लैङ्गिक हिंसाका विरुद्धमा अभियान चलिरहेको छ ।
यो अभियान अन्तर्राष्ट्रिय अभियान हो । केही अपवाद बाहेक संसारका सबै देशमा यो अभियान चलिरहेको छ । नेपालमा पनि यस अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रको सङ्लग्नता रहने गरेको छ । सोह्रश्राद्ध भन्दा अनौठो मान्ने मानिसहरूले समेत ‘यो सोह्र दिन नै किन ?’ सम्म नभनी यस अभियानका कर्ताहरू अभियानमा सहभागी भइरहेका छन् । यो अभियान सुरू हुँदा नेपालमा पञ्चायत नामको निरङ्कुश निर्दलीय राजनीतिक व्यवस्था थियो र यस्ता क्रियाकलापमा पनि प्रतिबन्ध थियो ।
राजनीतिककर्मीहरूमाथि चर्को दमन थियो । वि.स.२०४६ (सन् १९९०) सालको जनआन्दोलनको बलमा प्रजातन्त्र पुनःस्थापनापछि यस्ता अभियानहरू चल्ने चलाउने वातावरण बनेको हो । प्रजातन्त्र पुनःस्थापनाको सातौँ वर्ष सन् १९९७ देखि यो अभियान सरकारी स्तरमा पनि मनाउन थालिएको हो । अभियानका वक्ताहरूका दमदार भाषण सुन्दा हामीलाई लाग्न सक्दछ कि महिला हिंसा नेपालमा मात्र छ, महिला हिंसा हुनुको कारण यहाँ प्रचलनमा रहेका धर्म, संस्कृति, परम्परा र मूल्य—मान्यता हुन् भन्ने जस्तो लाग्दछ ।
नेपालमा ‘लैङ्गिक हिंसा’ भनेर महिला र पुरुष बाहेकका अन्य लैङ्गिक—यौनिक समुदाय विभेदमुक्त छैनन् र यसतर्फ पनि ध्यान दिन आवश्यक छ भन्ने बोध गरिएको देखिन्छ । यस वर्षका लागि नेपालमा तय गरिएको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता :बालबालिकामा ऐक्यबद्धता !’ गरिएको रहेछ । तर, निर्धारित नाराले सभ्य समाजको काम र पहिचान सधै लैङ्गिक हिंसा विरुद्ध अभियान चलाइरहन पर्ने हो कि जस्तो देखियो, अर्थात् लैङ्गिक हिंसाका विरुद्ध अभियान चलाइरहनुपर्ने, यो समस्या कहिल्यै समाधान नै नहुने श्रेणीमा राखिएको जस्तो बुझिन्छ । कुनै पनि नारा निर्धारण गर्दा प्राप्ति वा गन्तव्यलाई ध्यान दिनुपर्ने हुन्छ, न कि माध्यमको निरन्तरतालाई । निर्धारित नारा हेर्दा यो अभियान रहँदासम्म लैङ्गिक हिंसा रहिरहने जस्तो देखिन्छ । जब कि यसलाई फेरेर लैङ्गिक समानताका लागि भनेर अभियान विकास गर्नुपर्ने हो । यी दुवै नारा हेर्दा यो अभियान फगत औपचारिकता मात्र हो भन्ने देखिन्छ ।
कुनै पनि सभ्य समाजमा हुने भेदहरू कामका आधारमा हुन्छन्, त्यस्ता भेद वा विभेद स्वाभाविक हुन्छन् । तर जाति, लिङ्ग, रङ्ग, धर्म, भाषा, भूगोल, शारीरिक बनोट आदिमा आधारित अन्य विभेदहरू मानवअधिकारका दृष्टिले अनुचित र निन्दनीय हो । अङ्ग्रेजीमा लेखिएको ‘अन्तर्राष्ट्रिय’ नाराले महिला र बालबालिका विरुद्धको हिंसालाई मात्र विषय बनाएको छ, लैङ्गिक—यौनिक समुदायमाथि रहेको विभेदबारे मौन रहेको छ । समग्र लैङ्गिक हिंसाबारे हामीले ध्यान दिनुपर्ने हुन्छ । तर, यस्ता आयातित नारा, अभियान र कार्यक्रमले हाम्रा वास्तविकता वहन गर्न सक्दैनन् ।
राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जस्तो सामाजिक अभियानलाई ‘विरुद्ध’ भन्नु उपयुक्त नहोला, यसलाई त लैङ्गिक समानताका लागि सहकार्य जस्तो नारा र अभियान चलाउनु सान्दर्भिक हुने देखिन्छ । यस्तो अभियान त नेपालमा योगमाया न्यौपानेको अगुवाइमा वर्षौँ पहिले सुरू गरिएको इतिहास विरासतका रूपमा हामीबिच छ, त्यसलाई बिर्सनु हुँदैन ।
आफ्ना सोच, विचार र व्यवहार फेर्न नसक्ने ‘भलाद्मीहरू’लाई मञ्चमा खादा माला पहिराइदिएर आप्mनै माटो र मौलिक संस्कृतिका विरुद्ध भाषण गर्न लगाएर विभेद अन्त्य हुँदैन, समानता स्थापित हन सक्दैन । विरासतलाई बुझ्दै नबुझी संस्कृतिमाथि दोषारोपण गरेर कुनै समस्याको समाधान सम्भव छैन ।
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ नारीहरूको सम्मान हुन्छ, त्यहीँ देवताहरू खुसी हुन्छन्’ भनिएको छ । महिलाहरू ! वैदिक सनातन संस्कृतिको इतिहास हेर्नुस्, इतिहासका ती कालखण्डमा तपाइँहरू सर्वपूजिता हुनुहुन्थ्यो । तपाइँहरू सर्वशक्तिस्वरूपा हुनुहुन्थ्यो । तर, अहिले ? ‘भताभुङ्ग घरको, लथालिङ्ग चाला’ भएको छ । त्यस संस्कृतिलाई अन्तःकरणमा पुनर्जागृत गरौँ— जुन संस्कृतिले तपाइँहरूलाई गौरवशाली सम्मान दिएको थियो । र, तिनै अधिकारको दाबी गरौँ ।
लेखक ,संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।