बुटवल,मंसिर १६
आज २ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस मनाईदै छ । संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।
आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासताका बिषयमा अहिले खासै चर्चा नभएपनि विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ ।
यस वर्षको नारामा पनि आधुनिक समाजको दासता उन्मुलन गर्नका लागि विश्व समुदायलाई यस वर्ष परिवर्तनकारी शिक्षा मार्फत जातिवादको दासत्वको विरासतसँग लड्न अपिल गरिएको छ। नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको हो । नेपालका गाउँ गाउँमा पनि विभिन्न स्वरूपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरू चलिरहेको सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।