बुटवल,मंसिर १६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताउनुभएको छ । बुटवलमा शनिबारबाट सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गर्नुभएको हो ।
‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’, देउवाले भन्नुभयो । उहाँले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने भन्दै काम गरेर देखाउने बताउनुभयो ।
देउवाले कार्यक्रममा निकै छोटो भाषण गर्नुभएको थियो । देउवा भन्दा अगाडि बोल्ने नेताहरुले पार्टीमा गुटबन्दी हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । सम्मेलन भोलि आइतबार सम्म चल्नेछ ।