बुटवल, मंसिर २१
दोभान माध्यमिक विद्यालय,दोभान,पाल्पाले बिहिवार दोभानमा हीरक महोत्सव सम्पन्न गरेको छ । महोत्सवका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव रहेको बताउनुभयो ।
साथै उहाँले निमुखा तथा गरिव जनताका छोराछोरीलाई जनमुखी शिक्षा नभएसम्म बैदेशिक रोजगार र बिदेशी सेना,प्रहरीमा भर्ति हुने अवस्थाबाट पार लगाउन नसकिने बताउनुभयो । वैज्ञानिक शिक्षाले समाज परिवर्तनमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
साथै विशिष्ट अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्तिमगरले हीरक महोत्सवका अवसरमा सम्मानित शिक्षक,विद्यार्थी र अभिभावकलाई धन्यवाज्ञापन गर्दै शिक्षामा आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभयो ।
सोही हीरक महोत्सवका अवसरमा विशिष्ट अतिथिका रुपमा रहेका संघीय सांसद माननीय ठाकुर गैरेले तिनाउमा रहेका सबै विद्यालयका प्रअ,समितिका अध्यक्षहरु,शैक्षिक व्यक्तित्वहरुका साथै राजनीतिक पार्टीका नेताहरुकाबीच तिनाउको शैक्षिक सरोकार विषयमा मन्थन कार्यक्रम गरि शैक्षिक मार्गदर्शन आवश्यक रहेको बताउनुभयो ।
उक्त महोत्सवमा तिनाउ गापाका अध्यक्ष प्रेम श्रेष्ठ,उपाध्यक्ष लालबहादुर थापा,सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ,रुपकुमार क्षेत्री,अमर प्रधान,हुकुम जीसी,चोपलाल गिरि,महेन्द्र सुवेदी,टंक बस्याल र कृष्ण पाण्डेय लगायतले विद्यालयको उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए । महोत्सवमा पुर्खे बा, वसन्त लम्साल,लालुमाया थापा र शाहिर केसी लगायतले सांस्कृतिक कार्यक्रम गर्नुभएको थियो । विद्यालयका प्रअ सूर्य पौडेलले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए । गोपाल केसी र सन्तोष शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रम समितिका अध्यक्ष राजेश श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।