Hamroprayas
अहिले र उहिलेका कुरा 

गंगा लिम्बू
सबेरै उठी, घर सफाइपछि छोराछोरीलाई खाना र टिफिन तयार पार्न थाल्छु ।  छोराछोरी बल्लतल्ल सात बजेतिर उठ्छन् । । खाना खुवाएर, झोलामा टिफिन, पानी हालिदिएर, कपडा लगाई दिएर स्कुल पठाई सकेपछि लथालिङ्ग सामान र कपडाहरू मिलाउन थाल्छु । त्यतिबेला मेरो मानसपटलमा पुराना यादहरू फिल्मका रिल घुमेजस्तै घुमिरहन्छन् ।  
मेरो बाल्यकाल, जुन समयमा हामी स्कुल जाँदा ब्याग बोक्नु पर्थेन ।

टिफिन कापी कलम केही पर्थेन । तर, बाँसको सानो ढुंग्रो बोक्नुपथ्र्यो । बाँसकै सिन्का, खपटा   ९बाँसको तामा हुर्किदै गएपछि सेतो ढाकिएको भाग निस्कदै जाने० बोक्नुपथ्र्यो । खपटाको पछाडिपट्टि छोएमा चिलाउने मसिनो काँडाजस्तो हुन्छ, त्यसलाई धुलोले वा ढुंगाले रगटेर फाल्नुपथ्र्यो । ढुंग्रोमा धुलो हुन्थ्यो । करिब एक घण्टा हिडेर स्कुल पुगेपछि लाईनमा प्रार्थना, राष्ट्रिय गान, पीटी ईत्यादि सकेर कक्षाकोठा ९ब्ल्याकबोर्ड बाहेक खाली० भित्र पस्न पाईन्थ्यो । भूँईमा बसेर आफूले बोकेर गएको धुलो त्यहि खपटामा खन्याएर बाँसको सिन्काले क, ख, ग लेख्नुपथ्र्यो । अहिलेको मन्टेश्वरी भनेजस्तो त्यो बेलामा शिशुकक्षा भनिन्थ्यो ।

शिशु कक्षामा क ख ग लेख्न जानेपछिमात्र  बेञ्चमा बसेर कापी र कलम पाईन्थ्यो ।मेरा दुई छोराछोरी छन् । दुबैले मन्टेश्वरी पढे । पुरै एकवर्ष कापीमा धर्सा कोरेर मात्रै बिताए । राम्रो स्याहार पुगोस् भनेर बुटवलकै राम्रो मन्टेश्वरी स्कुलमा भर्ना गरें । बच्चाहरूको लागि राम्रो व्यवस्था भएको स्कुलमा महँगो शुल्कको चिन्ता गरिनँ । बच्चाको राम्रो स्याहार होस् त्यतिमात्र सोचें । म कुनै अफिसमा जागिरे होईन । मलाई फुर्सद छ तरपनि मैले छोराछोरीको भविष्यलाई पहिलो प्राथमिकतामा राखें । 

पूर्वी नेपाल, तेह्रथुम जिल्लाको बिकट ठाउँमा जन्मेकी हुँ म । सानी हुँदा मेरी आमा खेतबारी, घाँस,दाउरामा व्यस्त हुनुपथ्र्यो । हामीलाई स्कुल पठाउन भ्याउनु हुन्थेन । हामी चार सन्तान । धेरै वर्षको अन्तर पनि छैनौं ।  जेठो दाजुले हामीलाई खानेकुरा बनाएर  अनि खुवाएरसँगै स्कुल लैजानुहुन्थ्यो ।

यतिबेला सासुआमाले छोराछोरीलाई तयार पार्दिनु हुन्छ । श्रीमानले नानीबाबुलाई स्कुलसम्म पुर्याउनु हुन्छ । सेकेन्ड सेकेन्डमा घडी हेरिरहनु पर्छ । भित्तामा घडी र मोबाईलमा जताततै । मेरो जमानामा घडी भनेको रेडियो र घाम हुन्थ्यो । बिहानको घामको छायाँ हेर्ने प्रत्येक घरको आँगनमा चिन्ह लगाईन्थ्यो । त्यहि छायाँको अन्दाजमा हामी चल्थ्यौ । समयमै स्कुल पुग्थ्यौ ।
मेरा छोराछोरीलाई स्कुलबाट फर्कनेबित्तिकै नास्ता चाहिन्छ । के खाने उनीहरूको छनौटमा भरपर्छ । नास्ता सकेपछि एकछिन मोबाईल हेर्न दिनुपर्छ । खेल्न दिनुपर्छ अनिमात्रै होमवर्क गर्न मान्छन् ,हामी स्कुलबाट घर पुग्ने बित्तिकै आमाले कहिले भुटेको मकै, उसिनेको स्कुस, बासीभात हुन्थ्यो त्यहि खान्थ्यौ । हामी आ–आफ्नो काममा लाग्थ्यौ । म सानो थिएँ तरपनि मेरो लागि काम छुट्याईएको हुन्थ्यो । बार्दलीमा बसेर लहैलहै भन्दै चिच्याउँदै स्याल धपाउन पथ्र्यो । दाजुदिदीहरू आमालाई सघाउन जानुहुन्थ्यो । गृहकार्य त घरमा भ्याए गरिन्थ्यो । नभ्याए स्कुल जाँदै बाटोमा बसेर हतार हतार गर्नुपथ्र्यो । दगुर्दै स्कुल समयमै पुग्थ्यौँ । 

मेरा बच्चाहरू घरको खानाभन्दा जंकफुड खान मन पराउँछन् । छुट्टीका दिन उनीहरूलाई रेष्टुरेन्टमा,उनीहरूकै रोजाईमा पिज्जा, बर्गर र केक आदि खुवाउँछु । खुसी हुन्छन्  । मपनि मख्ख पर्छु । यी सबै बच्चाहरुका खुसीका निम्ति गरिएका अभ्यासहरु हुन् । उनीहरुले खुसीले खाँदा आफैले खाएजस्तै लाग्छन् । उनीहरुका खुसीमा आफ्ना खुसी जोडिएजस्तै लाग्छन् । 
उहिले हामी छुट्टिको दिन गोठाला जानुपथ्र्यो । लेकको ठाउँ भएकोले डाँडापाखामा वस्तु चराउन गईन्थ्यो । वनजंगलमा खान मिल्ने चीजहरु खोजी खोजी खान्थ्यांै । हामी सबै खाईलाग्दा हस्टपुष्ट थियांै । सानैदेखि मोटी, गाला रातोरातो, कान्छी छोरी प्यारी थिएँ । सबैले माया गर्नुहुन्थ्यो । जंगलमा ओखर पाईन्थ्यो । जतिसक्दो खान्थ्यांै । दाजुहरूले चरा मार्नु हुन्थ्यो । आजकल चिकेन तन्दुरी भनेजस्तै त्यो बेलामा त्यसै गरी आगोको रापमा चरा पोलेर खान्थ्यांै । पोलेको मासु खाँदाको स्वादै बेग्लै । 
छोराछोरीलाई बिदामा बस्दा बस्दा वाक्क भयो कि भनेर सपिङ्ग लैजान्छु ।  खेलौना किन्छन् । खानेकुरा मन लागेको सबै किन्छन् । उनीहरूको खुसीको लागि म सबै किनिदिन तयार हुन्छु । सन्तानको खुसीलाई आफ्नो ठान्छु । 

आमाले हामीलाई कहिल्यै पैसा दिनुभएन । हामीले मागेनौं पनि । त्यो समयमा पैसाभन्दा बढी पैंचो चल्थ्यो । बेसीबाट धान बोकेर लेकतिर चढ्थे मान्छेहरू ।  धानसँग आलु साटेर लैजान्थे । नुन, साबुन  लिन दाजुहरू दुई दिनको बाटो हिडेर जानुहुन्थ्यो बजारतिर । नुन ल्याएपछि पैचो तिर्नुपथ्र्यो । हामी पैसा नलिई बजार जान्थ्यांै । निगुरो, पात, स्कुसहरू बोकेर गएपछि मुराइ ९भुजा०, बिस्कुट, चिउरा आदि साटेर खान्थ्यौं । बजार त्यसै पनि रमाइलो लाग्ने । बजार जानुभन्दा केही दिन अघिदेखि बेस्सरी काम गर्नुपथ्र्यो । आमाले त्यस्तै नियम बनाउनु भएको थियो । हेरेरै पुग्थ्यो हामीलाई बजार ।

मेरा छोराछोरीलाई मिठो खानेकुरा चाहिन्छ कि मोबाईल हेर्दै खानुपर्छ । मलाई भने जसरीपनि खाना खाईदिए हुन्थ्यो जस्तो लाग्छ । सकेको मिठो बनाउने कोसिस गर्छु । त्यतिले पुगेन भनेपनि मोबाईल हेराउँदै खुवाउँछु ।  
आमाले हामीलाई कहिल्यै भोको राख्नु भएन । धेरैजसो मकैको परिकार बन्थ्यो भान्सामा । लेकमा मकै उत्पादन बढी भएर हो कि १ मकैको चामल भात, ढिडो, रोटी, भुटेको मकै, फापरको रोटी, कोदोको खोले, उसिनेको स्कुस, उसिनेको फर्सी, सिमी, उसिनेको आलु आदि पेटभरि खान दिनुहुन्थ्यो । हामी सन्तुष्ट हुन्थ्यांै । 

भनेको नमान्दा १० वर्षकी छोरीलाई एकदिन पिटें । चाईल्ड एब्युज गर्नुभो भनेर सीधै भनिन् मलाई । मेरी आमाले खुट्टामा डाम बस्ने गरी पिट्नु हुन्थ्यो । म रून्थें ।  कहिले पनि फकाउनु हुन्थेन । आमाको शासन कडा थियो । हामी कति अनुशासित थियौं बयान गरी साध्य छैन । मातृसत्तात्मक समाज र परिवारमा हुर्किएका थियौं हामी । 
जमाना धेरै फरक भयो । सुबिधाहरू उत्तिकै छन् । आवश्यकताहरू पूरा भईरहेका छन् । विलासिताले मान्छेलाई दुःखी बनाईरहेको छ ।  मेरा छोराछोरीका लागि मेरी आमाजस्तै बन्न चाहेर सकिरहेको छैन । छोराछोरीका लागि असल आमा बन्ने रहरले अझै धूरी चढ्न सकेका छैनन् ।

उनीहरुका हरखुसीलाई आफ्नै खुसी ठान्ने गरेकी छु । तैपनि आमाको कर्तव्य पूरा गर्न सकिनँ कि भन्ने डरले मनमा साम्राज्य जमाइ रहेकै छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update