दलबहादुर गुरुङ
विहे गरेको पहिलो वर्ष २०५४ साल थियो । मेरो घर,साविकको दोभान गाविस वडा नं.६ को कालिका टोलमा थियो । अहिले पाल्पा जिल्लाको तिनाउ गाउँपालिका,वडा नं. २, शान्तिटोलमा पर्छ । सबिना लामालाई साथमा लिएर अघि बढेको वर्ष थियो । भागी विहे थियो हाम्रो । उनी काभ्रे जिल्लाको खरेलथोक गाविस,कटुञ्जेकी थिइन् । हामीबीचको प्रेम सम्बन्धले विहेको रुप लिएको थियो । सबिनाकी आमाले टाढाको मान्छेलाई छोरी दिन्न भनेर हजार बिन्ति गरेकी थिइन् । हामी भने नछुट्टिने मोडमा पुगेका थियौं ।
सकेसम्म मागी विहे गर्ने हाम्रो सोच थियो तर सम्भव नभएपछि २०५४ सालको फागुन २३ गते भागी विहे गरेर सिद्धबाबा मन्दिरमा सिन्दूर हालेको थिएँ मैले । मन्दिरका बाँदरहरु मेरा विहेका साक्षी थिए । परेवाहरुले आफ्नै धूनमा स्वागत गरेका थिए । मन्दिरका गुरुजनहरुले टीका लगाएर विहेमा बधाइ दिएका थिए ।
पहिलो वर्षको दसैंका लागि हामीहरु बन्दोबस्ती तरिकाले सबिनाको माइतीघर पुगेका थियौं । सिंगै हाँस,कुखुरा र रक्सीलाई पाहुर बनाएर लगेका थियौं । त्यतिबेला त्यतातिर हाँस खाने चलन कमै रहेछ । आफन्तीहरुले हाँसको मासुलाई हाँसीहाँसी चपाउँदै खाए । त्यो दृश्य रहर लाग्दो थियो । छिनछिनमा उनीहरुले तीनपानेले घाँटी भिज्याउँथे । सोलीमा सेलरोटी,रक्सी,मासुलाई बोकाएर आफन्तीकहाँ दसैंको तीन दिनसम्म घरदैलो कार्यक्रम सम्पन्न गरेका थियौं । सोली बोक्ने नानी साली पर्ने थिइन् ।
कराहीमा तेल घोप्टिएझैं म पनि टीका लगाएपछि ठूलाबडाका पाउमा घोप्टिन्थें । पँहेला जमराले कानका जरा रातै भएका थिए । टीका लगाउँदा पहिलो पटक आएका ज्वाइँ भनेर नगद १० का नोट दिन्थे । कोटका खल्तीमा दक्षिणा हाल्दै हैरान मलाई । अरुलाई त एक रुपैयाँको ढ्याक दिने चलन रहेछ । सबिनाले पनि मुस्किलले पाँचको रातो नोट पाउँथिन् । पूर्वेलीहरुको चलन नै रहेछ । आशीर्वाद दिने तर दक्षिणालाई कम महत्व दिने चलन । त्यतिबेला म गधा पच्चीस उमेरको थिएँ । दक्षिणा त जतिपनि बोक्न सक्थें तर मलाई दक्षिणाभन्दा पनि ससुराली गाउँका आफन्तीहरुका आशीर्वाद नै काफी थियो । उनीहरुले आफ्नै तामाङ्ग भाषामा दिएको शुभआशीर्वाद मेरा लागि अमूल्य सम्पत्ति थिए । ती दिनसम्म टीका लगाएर पाएको द्रव्य एउटा हात्ती बराबर थियो ।
गाउँभरि घुमियो । मामा–माइजूकहाँ गइयो । फुपू–पुसाइँकहाँ पुगियो । बाजे–बजैकहाँ नजाने कुरै भएन । काका–काकीहरुलाई सेवाढोग गरियो । तीन दिनसम्म वारि डाँडादेखि पारि डाँडासम्म सोली बोकेर हिड्ने साली पनि बलियी नै थिइन् । अचेल विहे भएर कता पुगिन् हेक्का छैन । टीका लगाइ दिने केही बाजे–बजैहरु यस धरतीमा नभएको पनि धेरै वर्ष पुग्यो । सबिनाका ६ जना बाजेका सन्तानकहाँ टीका थाप्न जाँदा त निधार पनि गहुँगो भएको थियो । झन्न यताजस्तो एकैदिन टीका लगाएर बीटमार्ने चलन छैन उता । नत्र एकैदिन त्यत्रा बथानकहाँ पुग्न सकिन्थ्यो र ? पूर्णिमासम्म टीका लागउने चलन राम्रै लाग्यो ।
धेरैले दसैंलाई दशा भन्छन् । खोइ ! किन मालुम छैन मलाई । सायद खर्चिलो भएर होला । पाहुना पनि कीराजस्तै आउँदा रहेछन् । घरका चोटादेखि कोठासम्म खुट्टा राख्ने ठाउँ नपाइने रहेछ । नयाँ ज्वाइँ भनेर अलि छिटो अवसर मिल्दो रहेछ । तानतुनमा नलाग्ने ज्वाइँ भएरपनि होला,छिट्टै अर्का आफन्तीकहाँ टीकेभैलो खेल्न पाइन्थ्यो । मासुमा,रक्सीमा, सेल, चिउरा, दक्षिणामा पैसा खर्च हुने भएकै कारण यो पर्वलाई दशा मानेका हुन पनि सक्छन् । लत्ताकपडा नयाँ चाहिने पनि ।
जेहोस् । पहिलो विहेको दसैंलाई ससुरालीमा खुबै मनाइयो । सायद त्यस्तो दसैं त्यसछिका वर्षमा रहेन । विहेको पछिल्लो वर्ष बाबा बिते मेरा । आमाले दाउन्नेमा ध्यान गर्न गइन् । घर पनि धूलो उडेको सडकजस्तै भयो । आमाले टीका लगाइदिन छाडिन् । पूर्णरुपमा बौद्धमार्गी भइन् । ठूल्दाइले टीका लगाइदिए पनि बाबा र आमाले लगाइदिए जस्तो मीठास र उल्लासपूर्ण भएन । देशमा द्वन्द्व चलेको समय थियो । दसैंको दिनमै मासु र चिउरा खाँदै टिभी हेरेको थिएँ । तत्कालीन माओवादी र नेपाल प्रहरीबीचको भीडन्तको वीभत्स दृश्य हेर्दा भक्कानो छुट्यो । त्यहि वर्षदेखि टीका नलगाउने प्रण गरें ।
त्यसपछि टीका लगाउन ससुराली पनि गएको छैन । घरमा पनि लगाएको छैन । घरकाले लगाउँछन् । साथमा बस्छु । पकाएको खान्छु । रमाइलो गर्छु । त्यस दिनको टिभी दृश्यको कारुणिक चित्र मनमा अझै खोपिएकै छ ।
यतिबेला देशमा द्वन्द्व छैन । गणतन्त्र आइसकेको छ । तर गरिवी उस्तै छ । पीर कम्तिको छैन । पीडा बिसाउने व्यवस्था नै धरापमा पर्ने हो कि डर लागिरहेको छ । दसैं सांस्कृतिक,सामाजिक पर्व हो । खुसीका लागि मनाउने हो । रहरलाई कहर बनाउन हुँदैन । दक्षिणा थाप्ने निहुँमा दसैं मनाउने पनि होइन । हामीले ठूलाबडाबाट आशीर्वाद लिने हो । सत्मार्गमा हिड्न हौशला र प्रेरणा थाप्ने हो । मिठो,मसिनो खाने,नयाँ लगाउनका लागि ऋण काढेर हिड्ने होइन । सक्दो,हरहिसाव मिल्दो खर्च गर्ने र सभ्य तरिकाले दसैं मनाउने हो ।
फजुल खर्च गर्ने होइन । अनावश्यक र काम नलाग्दा बस्तु सेवन गरेर स्वास्थ्य बिगार्ने पनि होइन । चाडपर्वहरुमा दुर्घटना बढ्ने भएकोले सबैले ख्याल गर्नुपर्छ । सबैको दायित्व पनि सुरक्षित रहनु पनि हो । लडाइँ,झगडा र कलह अनि तासजुवा यतिबेला समस्याका रुपमा देखिन सक्छन् । समयमै ध्यान दिनुपर्छ नियन्त्रणका लागि । कुरा यत्ति हुन् । सबैले आआफ्नै तरिकाले दसैं मनाऔं ।
अनुभव र अनुभूति