बुटवल,पुस ५
एमाले उपाध्यक्ष, पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट जनाउनुभएको छ । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको बताउनुभयो ।
रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने पनि पौडेलले बताउनुभयो । सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको भन्दै उहाँले अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवारी सरकार भएको बताउनुभयो ।
बुटवल–नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै उहाँले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाउनुभयो । प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि उहाँले आपत्ति जनाउनुभयो । पौडेलले अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गर्नुभयो । बुटवलको ६ लेन सडक निर्माणमा भैरहेको ढिलाईले बुटवललाई गिज्याइरहेको भन्दै उहाँले सरकारमा बस्नेहरुले रमिता हेर्ने बाहेक केहीगर्न नसकेको बताउनुभयो ।
समग्रतामा बुटवल र सिंगो रुपन्देहीलाई विकासको रोलमोडलको रुपमा अगाडि बढाउने अभियानमा आफूले जनप्रतिनिधिको हैसियतले जनताप्रतिको विश्वास टुट्न नदिने भन्दै निर्माणाधीन विकासका सबै आयोजना पूरा गरेरै छाड्न बताउनुभयो ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाखरे्रेल, मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारी लगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको बताउनुभयो ।