भैरहवा, ७ पुस
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
संघको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित हुनुभएको छ ।निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीका अनुुसार संघको कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित भएको निर्वाचन समिति संयोजक र खिमबहादुर खत्रीले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले सपथग्रहण गराउनुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले व्यवसायीका गुनासो सुन्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताउनुभयो । उहाँले संस्थालाई अझ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीका अनुसार २०७७ सालमा स्थापना भएको संस्थामा हाल १५२ जना सदस्यहरु आबद्ध छन् ।