बुटवल,पुस ९
१६ वर्षे उमेरैमा
मै पनि झिल्के हुँदो हुँ
अहिले पो बुढो भएँ र ?
यो गीत सुनिरहँदा कहिलेकाँही नरमाईलो लाग्छ । अतीतका यादले सताउँछ । विगतले चिमोट्छ । वर्तमानले आफूलाई खोजिरहन्छ । १५ पुगेर १६ वर्ष लाग्दै गरेको रेडियो मुक्तिको यात्रामा सारथी बन्ने सुनौलो अवसर सोमवार बुटवलमा मिल्यो । कार्यक्रम, निर्धारित समयभन्दा नौ मिनेट ढिला सुरु भयो । स्टेशन मेनेजर कल्पना तिवारीले कार्यक्रम चलाइन् ।
रेडियोकी अध्यक्ष दीपु पोखरेलले रेडियोको परिचयसँगै अतिथिलाई स्वागत र सम्मान गरिन् । उत्साहका १६ औं वर्षमा मुक्तिका आवाज सुनाइन् । मनीषाले राष्ट्रभाव बोकेको गीतमा नृत्य गरिन् । सबैका रगत उमालिन् ।
कार्यक्रममा आमन्त्रित पाहुना थिएँ म पनि ।
प्रमुख अतिथि थिए लुम्बिनी प्रदेशका गृह तथा सञ्चारमन्त्री सन्तोष पाण्डेय । युवामन्त्री । तन्नेरीमन्त्री । छोटो भाषण गरे प्रमुख अतिथिको हैसियतले । महिलाहरुले चलाएको रेडियो मुक्तिलाई छोटो र सारगर्वित शुभकामना दिए । उत्तरतिरमात्र होइन दक्षिणका भगवनापुरदेखि मर्चवारसम्मका कहानी खिचेर सबैका माझ पुराउन रेडियोसँग अपील गरे । दक्षिणी महिलाका दुःख,पीडालाई रेडियोमा ल्याउन अनुरोध गरे । रेडियोलाई वजेट दिन्छु भने । प्रस्ताव लिएर छिट्टै मन्त्रालयमा आउन भने उनले । रेडियोकी पूर्वअध्यक्ष एवम् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सक्दो सहयोगका लागि अनुरोध गरिन् मन्त्रीसँग ।
उत्साहका १६ वर्षका अवसरमा रेडियोलाई माया गर्ने,सम्मान गर्ने,सहयोग गर्ने र साथ दिनेहरुका अनुहार र आवाजलाई समेटेर शुभकामना श्रृङ्खला राखिएको रहेछ । रेडियोकी समाचार प्रमुख अस्मिना पाण्डेयले प्रदर्शनका लागि चाँजोपाँजो मिलाइन् । करिव आधाघण्टा हेर्ने र सुन्ने अवसर मिल्यो । खुसी लाग्यो । बरु थोरै समय थपेर रेडियोका विगत, वर्तमान र भविष्यका सपनाहरु साँचेर एउटा छोटो वृत्तचित्र बनाइएको भए सुनमा सुगन्ध थपिन्थ्यो कि झैं लाग्यो । यो त मेरो मनको कुरा न भयो । यति शुभकामना श्रृङ्खला बनाउन पनि कति पापड बेल्न परेको थियो होला ? भन्नेलाई भन्न सजिलो छ काम गर्नेका दाँतबाट आएका पसिना कसले देख्छ र ?
मुक्ति रेडियो २०६५ सालदेखि सुरु भएको थाहा पाइयो । कविता शर्मा संस्थापक कार्यकारी अध्यक्ष रहेछिन् । एकपटक भेटेको पनि थिएँ । पछि उनीसँग काठमाडौंको एउटा पत्रकारिता पढाउने कलेजमा भेटेको थिएँ । उनको शुभकामना देख्न र सुन्न भने पाइएन । त्यसपछि दुई कार्यकालको अध्यक्ष भएर बुटवलका वर्तमान उपप्रमुख सावित्रीदेवी अर्याल दिदी चुनौतीका पहाडलाई सम्याउने प्रयत्न गरेकी रहेछिन् भन्ने कुरा उनको भाषण सुनेर मालुम भयो । महिलाका कुरा कसैले नसुन्ने,सुनेपनि वास्ता नगर्ने, महिलाहरुले के गर्न सक्छन् र ? महिलाहरुलाई सबैतिरबाट सारो भएको बिलौना सुनाउँदै थिइन् विशिष्ट अतिथिका हैसियतले कार्यक्रममा ।
रेडियोकी निबर्तमान अध्यक्ष गोमादेवी आचार्य पनि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख भइसकेकी छिन् । उनको भाषण सुन्न पाइएन । समय नभएरै होला । मलाई लाग्यो यो रेडियो उपप्रमुख बनाउने माउ संस्था पो रहेछ । कार्यक्रममा लामा भाषणभुषण थिएनन् । पत्रकार महासंघ,रुपन्देहीका सभापति रामराज पोखरेलले शुभकामना दिए । उनका कुरा मिठै थिए । पत्रकारका नेता भएपछि त्यति बोल्नुलाई राम्रो मान्न सकिन्छ ।
रेडियोका शेयर सदस्यहरु थुप्रिएका थिए । सजिएर आएका सबै दिदीबहिनी, दाजुभाइहरुलाई देखेर वन,वातावरण र जैविक विविधतामा चासो राख्ने म दलबहादुर पनि दङ्ग परें । कहिलेकाँही मेरा गाउँका कुरा गर्दिन्छ यो रेडियोले । त्यही भएर निम्तो मान्न आएको थिएँ । अझ् धेरै कुरा यहि रेडियोबाट सुनाउने मन छ । हाम्रा गाउँका दालचिनीका व्यापार,अम्रिसोबाट भएका आम्दानीले घर धानेका कथा,ढलापडा काठ बेचेर फूसका छाना हटाइएका कहानी,साग बेचेर सन्तान पालेका कथा, माछा जोगाएर मान्छे हेर्न आउने बनाएका पर्यटकीय कुरा यही रेडियोले दुनियाँलाई सुनाइ दिए हुने थियो । यो कुरा,पाल्पा तिनाउ,दोभानतिरको हो ।
कार्यक्रममा रेडियोको जन्मदिन मनाउँदै केक काटे,मैनबत्ती बालियो उद्घाटनमा । भवसागर फोटो सेसन भयो । हामीले भने भाँडोमा भात हालेर च्याम्म खाइयो । हिड्नेबेला विदा मागुँम भन्न पनि सकिनँ मैले । फोटो खिच्नेको धुइरो हुँदा ।
मुक्ति रेडियोले सबै पक्षका,सबै वर्गका,सबै लिङ्गका, सबै जाति,सबै वर्णका मानिसका आवाज उठाएर पछाडि पारिएकालाई राज्यको मूलधारमा ल्याउने प्रयास र अभ्यास गरिराखोस् ।
माथिको गीतले जस्तै पुरानो हुँदैजाँदा उदास नबनाओस् । अतीत सम्झेर उराठ नबनाओस् । जति सुने,उति सुनम,सुनम लाग्ने रेडियो बनोस् । रेडियो मुक्तिले सबैलाई मुक्ति दिन सकोस् ।
असीम शुभकामना ।