बुटवल,पुस ९
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले महिलाले अवसर पाए जस्तासुकै काम गर्न सक्ने बताउनुभएको छ । नेपाली समाज सकारात्मक सोचका साथ अगाडी बढेको बताउदै मन्त्री पाण्डेले सत्ता पक्ष, प्रतिपक्ष भन्दा पनि निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो । महिला समानताका लागि संचार अभियान द्धारा संचालित सामुदायिक रेडियो, रेडियो मुक्ति ९५।५ बुटवल १६ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा सोमबार बुटवलमा आयोजना गरेको उत्साहका १६ औँ वर्ष ,मुक्तिका आवाज बिषयक कार्यक्रममा बोल्दै मन्त्री पोण्डेले सो कुरा बताउनुभएको हो ।
मन्त्री पाण्डेले रेडियो मुक्तीले रुपन्देहीको दक्षिणी भेगलाई पनि समेटेर सञ्चारको माध्यममबाट जनतालाई सूसुचित गर्नुपर्नेमा जोड दिनुभयो । रेडियो मुक्तीको आवाज केही ठाउँमा सिमित हुन नहुने उहाँको भनाई थियो । गृहमन्त्री पाण्डेले सञ्चार क्षेत्रमा मात्रै समस्या नभएर आम देशमा देखिएका बिभिन्न खालका समस्या समाधान तर्फ काम गर्न आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्यालले सञ्चारको बिकसित मोडललाई समातेर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । महिलाको सञ्चार सञ्चालनमा आएपछि बिभिन्न समस्याहरु झेल्दै रेडियो १६ औं बर्ष सम्म आईपुग्दा समाजमा धेरै सकारात्मक काम गर्न सफल भएको बताउनुभयो । अर्यालले अब महिलाका मुद्धा मात्रै नभएर समग्र समाज सुधारका मुद्धा लिएर अगाडी बढ्न आवश्यक रहेको औल्याउनुभयो । उपप्रमुख अर्यालले समानता कायम गर्न र अधिकार प्राप्तीका लागी आमसमुदायका आवाज बोल्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवलमा महिलाहरुले सञ्चालन गरेको रेडियो उदाहरणीय रहेको बताउदै समय अनुसार सञ्चार माध्यमलाई परिमार्जित गराउदै लैजानुपर्ने बताउनुभयो ।
रेडियो मुक्तीका अध्यक्ष दिपु पोखरेलले विभेदपूर्ण समाज निर्माणका निम्ति समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्नु रेडियोको लक्ष्य रहेको बताउनुभयो ।अध्यक्ष पोख्रेलले रेडियोलाई १६ औं बर्षसम्म साथ दिनुहुने श्रोता, सरकारी तथा गैर सरकारी संस्था, दातृ निकाय, बिज्ञापनदाता, सहयोगी, शुभेच्छुक ,सल्लाह सुझाव दिनु हुने सबै प्रति धन्यवाद ब्यतm गर्नुभयो ।
सचेत नारी सचेत परिवार,हरेक क्षेत्रमा समान अधिकार भन्ने मुल नाराका साथ २०६५ पुस ९ गतेदेखि रेडियोले आफ्नो औपचारिक प्रसारण आरम्भ गरेको थियो । रेडियो मुक्ति महिलाहरुद्धारा स्थापित र संञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो हो । महिला शसक्तिकरण, महिला हिँसा न्यूनिकरण, लैंगिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संञ्चालन गर्नका लागि स्थापित रेडियो महिलाका मुद्धाहरुप्रति पूर्णरुपमा सर्मपित छ ।
महिला माथि हुने गरेका सवै प्रकारका विभेद, हिंसा, असमानता,अमानविय व्यवाहार र रुढीवादी चिन्तनलाई निरुत्साहित गर्ने र समृद्ध समाज निर्माण गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखेको रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारीले बताउनुभयो । कार्यक्रममा रुपन्देही क्षेत्रका जनप्रतिनीधि , उद्योगी ,व्यवसायी , बिभिन्न संघसंस्थाका प्रतिनिधि ,सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।