बुटवल, कार्तिक ३
विश्व खाद्य दिवसको अवसरमा लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयले आठ जना किसानलाई पुरस्कृत गरेको छ । कृषि प्रविधिको प्रयोग गरि उत्पादन र उत्पादकत्व बढाएका किसानहरुलाई निर्देशनालयले नगद आठ हजार रकम सहित सम्मान गरेको हो ।
रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसलाजन्य बाली र मौरी पालक किसान पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेश खाद्यान्नमा आत्मनिर्भर छ भने तरकारी र फलफूलमा आत्मनिर्भर उन्मूख छ । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रति व्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिव दश प्रतिशतले न्यून रहेको तथ्यांक छ । प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ ।
प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेती योग्य जमिनमध्ये पाँच लाख ३५ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । सिंचाई प्रदेशलाई कृषजन्य खाद्यबस्तुमा आत्मनिर्भर बनाउने गरि कार्य भैरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले बताउनुभयो ।
खाद्यवस्तुहरुमा दिगो पहुँच र उपभोग बृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हासिल गर्ने मन्त्रालयको लक्ष्य छ । उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरिय बिउ, सिंचाई सुविधा र मलखादको आवश्यकता पर्दछ । तर, किसानहरु ती कुराहरुबाट विमुख छन् । जग्गा खण्डीकरणले खेतीयोग्य जमिन नासिदै गएका बेला तीनै तहका सरकारले जग्गा चक्लाबन्दीलाई प्राथमिकता दिनुपर्ने ४३ औँ खाद्य दिवसमा बोल्ने वक्ताहरुले बताए ।
लुम्बिनी प्रदेशमा खाद्य सुरक्षकालागि जलवायु परिवर्तन, रोगकिराजन्य महामारी, कृषि सामाग्रीहरुमा सीमित पहुँच, बजार पहुँच सीमितको हुनु जस्ता चुनौतीहरु रहेका छन् ।