बुटवल, कार्तिक ३
नेपालीहरुका पर्वहरुको शुभकामना,सिद्धबाबा भाग –२ पुस्तकको समीक्षा एवम् स्थानीय धार्मिक संस्थाहरुको सञ्जाल गठन कार्यक्रम शुक्रबार तिनाउको सिद्धबाबा मन्दिरमा सम्पन्न भएको छ ।
कार्यक्रममा सिद्धबाबा भाग–२ को समीक्षा गर्दै लेखक माधवकुमार पौडेल र पत्रकार अमृता अनमोलले सिद्धबाबा मन्दिरको ऐतिहासिकता,पर्यटकीय गन्तव्यका रुपमा पहिचान दिने गरि पुस्तक प्रकाशन भएको बताउनुभयो ।
साथै उहाँहरुले पुस्तकमा मन्दिरका गतिविधिहरु,भर्तृहरि र रामपिथेकसका बारेमा गहन खोज,अध्ययन र अनुसन्धान समेटिएका लेख,रचनाहरु सङ्ग्रहणीय रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख वसन्त घर्तिमगरले सिद्धबाबा मन्दिरलाई लुम्बिनी कै पशुपतिनाथका रुपमा विकास गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा,महेन्द्रप्रसाद पाण्डेय,राजेश श्रेष्ठ,बिष्णुकुमारी घिमिरे ,दमबहादुर कार्की ,गोपाल बस्याल,अरविन्द पाण्डेय र सन्तोष शेरचन लगायतले सिद्धबाबा धार्मिक,सांस्कृतिक एवम् आर्थिक केन्द्रको रुपमा विकास हुँदै गएको बताउनु भयो ।