बुटवल, कार्तिक ३
नेपालको यातायात क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रा लिको प्रधान कार्यालय बुटवलमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले यातायात ब्यवसायमा देखिएका समस्याका बारेमा स्थानीय सरकार संवेदनशिल रहेको बताउनुभयो । पाण्डेले कुनै बेला निकै गर्वको विषय रहेको यातायात क्षेत्र अहिले त्यो अवस्थामा नरहेको दुखेसो गर्नुभयो ।
बुटवल नयाँ बसपार्कलाई नमुना बसपार्क बनाउने लक्ष्यसहित कोसेली घर, क्यान्टिन निर्माण, शौचालय लगायत निर्माणमा स्थानीय सरकार अघि बढेको जानकारी दिनुभयो । पाण्डेले बुटवलको पहिचान हुने गरि सबै संघसंस्थाहरु मिलेर सरकारसंग योजना सहित बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण ब्यवसायीहरु पिडामा रहेको भन्दै आम उपभोक्ताको हितको पक्षलाई मध्येनजर गरि सेवा दिदै आएको बताउनुभयो । पर्वको समयमा बढी यात्रु आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाएको बताउनुभयो । हिजोको दिनमा जस्तो लालायित पेशा नरहेपनि आम उपभोक्ताहरुको सुविधालाई ख्याल गर्दै संस्थाबाट नै खर्च उपलब्ध गराएर संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
‘चाडपर्वको अवसरमा प्रत्येक यातायात ब्यवसायीलाई १० हजार रुपैया दिएर सेवालाई निरन्तरता दिदै आएको बताउदै अध्यक्ष खरेलले समाजमा देखिएका सबैजसो कमजोरीहरुलाई खोजी गर्दै पत्रकारहरुले आलोचनात्मक समाचार निरन्तर लेख्न सुझाव दिनुभयो । यात्रुहरुलाई गन्तव्यसम्म पुर्याएर दशै मनाएमात्रै आफुहरु आर्शिवादको योग्य हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले दुर्घटनाका कारण खोजी गरि त्यसलाई रोक्ने अभियान चलाएको बताउनुभयो । आँखा परिक्षण, मेकानिकल जाँच कार्यलाई जोड दिएको उहाँले बताउदै सडक जाचभन्दा पनि सुरक्षामा जोड दिएको जानकारी गराउनुभयो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले आआफ्नो जिम्मेवारी पुर्वक कर्तब्य पुरा गरे दुर्घटना कम हुने र यात्रा सुरक्षित हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, पश्चिम नेपाल बस ब्यवसायी प्रालि संचालक रामचन्द्र भुषाल लयायतले बोल्दै बुटवल आसपासमा रहेका पर्यटकीय स्थलहरुलाई जोड्ने गरि यहाँका ब्यवसायिक संस्थाहरुसंग समन्वय र सहकार्यका योजना बनाउनु पर्नेमा जोडदिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलको पक्षमा सकारात्मक सन्देश जानेगरी समाचार सम्प्रेषण गर्न सकेमात्रै सबै क्षेत्रको बिकास हुन सक्ने औल्याएका थिए । यसैबिच प्रालिले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।