तिलोत्तमा,पुस २५
लुम्बिनी बिशिष्टिकृत सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । करीब ३ वर्ष अगाडि प्रदेशका सम्पुर्ण सहकारीलाई जोड्दै दुग्धजन्य उत्पादनमा अवसर खोज्दै आर्थिक स्थीति सुधार गर्ने उद्धेश्यले सुरु गरिएको सहकारीले चौथो साधारण सभा बुधबार सम्पन्न गरेको हो ।
साधारण सभाको अवसरमा प्रमुख अथिति लुम्बिनी प्रदेशका योजना आयोग प्रमुख नहकुल केसिले कृषिमार्फत ३० प्रतिशत लगानिको क्षेत्र बनेको सहकारीलाई सफलतातर्फ लैजान बचत तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुले इमेज जोगाउनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले प्रतिस्पर्धा फरक तरिकाले गर्नुपर्ने, डेरि सुधारको अभियान आजैबाट सुरु गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रमुख केसीले बजारको अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने भन्दै त्यसपछाडि मात्र उत्पादन, गुणस्तरियता,प्रबिधी प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । उहाँले बिशिष्टिकृत सहकारीमा कानुन बाधक बनेको भन्दै नितिगत अप्ठ्यारा फुकाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष डा. खगराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षताको प्रतिवेदन प्रस्तुत गर्दै शर्माले सहकारीहरुका बिषयमा विभिन्न खालका नकरात्मक टीका टिप्पणी भैरहेको समय सबै सहकारी असफल छैनन भनेर यो सहकारी उदाहरणीय सहकारिको रुपमा स्थापित गर्ने गरी लागेको दावी गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय सहकारी विकास संघका सन्दिप सापकोटाले दुग्धजन्य सामागी्रका लागि आयातित दुध प्रयोग घट्न नसक्नु दुखद भएको भन्दै यसलाई यो सहकारीले चिर्नंसक्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
साधारण सभामा संचालक संघका हरि काफ्ले,साना किसान कृषि सहकारी संस्था बडागाउं गुल्मीका हरि छ्न्तेल,पशुविज्ञ सल्लाहकार तुलसीराम भण्डारी, हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकनाथ पाण्डे ,पंचामृत दुग्ध सहकारी संस्थाका ब्यवस्थापक शोभाखर भण्डारी, राष्ट्रिय सहकारी बैंकका नारायण बेल्बसे लगायतले सवैको साथ सहयोगले नै सहकारी सफल हुने र सहकारी सफल भए समग्र कृषकलाई लाभ हुनेमा जोड दिनुभयो ।
उहांहरुले पशु बिमा प्रभाबकारी बन्न नसकेको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । लेखा संयोजकको प्रतिवेदन ब्यवस्थापक जयकिसान अधिकारीले प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन खेम प्रसाद गौतमले प्रस्तुत गर्नुभएको थियो । साना किसान कृषि सहकारी संस्था तिलोत्तमा ९ करहियाका अध्यक्ष झुपा न्यौपाने पाण्डेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव गोपाल पौडेलले गर्नुभएको थियो ।