Hamroprayas
रुपन्देही व्यापार संघमा चुनावी सरगर्मी

बुटवल,पुस २६ 
रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुने भएको छ  । अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरि काम अगाडि बढाएको संघले जनाएको छ ।संघको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले संघमा चुनावी तयारी पनि अगाडि बढेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिनुभयो ।

कानुनी सल्लाहाकार लेखनाथ ढकाल प्रमुख निर्वाचन अधिकृत, प्रेस सल्लाहाकार सुमन अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्य तालिका तय गरि निर्वाचन कार्यक्रम अगाडि बढाएको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताउनुभयो ।
निर्वाचन कार्यक्रम अनुसार मंगलवार र बुधवार मतदाता नामावली प्रकाशन गरि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनको काम सकिएको छ । त्यसैगरि माघ २ गते उम्मेदवारी दर्ता, ३ गते उम्मेदवारीमाथि दावी विरोध तथा मनोनय फिर्ता र ४ गते अन्तिम नामावली प्रकाशन तालिका तय गरिएको छ । 

संघमा कुल मतदाता संख्या १ हजार १९६ रहेका छन् । निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २१ जना निर्वाचित हुने छन् । निर्वाचन कार्यक्रम घोषणा भएसंगै नयाँ नेतृत्वका लागि व्यवसायीहरुबीच चुनावी सरगर्मी बढेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update