बुटवल,कार्तिक ४
पर्वहरुका अवसरमा बजारमा भिजुअलसहितको नयाँ गीत आएको छ । पूर्वेली लवजको उक्त गीतमा अभिनय खारिएको छ । गीतमा मधुरता त । प्रेम छ । स्नेह छ । संगीतले मन छोएको छ । केटा र केटीको प्रेमलाई गीतमा जीवनको लय बनाइएको छ । स्वरमा जादू छ । गीतमा जीवन छोटो भनिएको छ । साँचिक्कै हाम्रो जीवन अति नै छोटो छ । को कहाँ गएर जीवनको अन्त्य हुने हो थाहा छैन ।
आफ्नो आयूको प्रमाणपत्र आफूसँग नहुँदोरहेछ । घटना र परिघटनाको अमूल्य श्रृङ्खला नै जीवन रहेछ । जीवनको परिभाषामा दिल,दरवार,माया,प्रेम,स्नेह,मिलन,बिछोड,त्याग,धृणा,समर्पण सबै समेटिने रहेछन् । प्रेममा स्नेहको बदलामा कहिलेकाँही घृणा मिल्दोरहेछ । मिलनको सट्टामा बिछोड र समर्पणको विपरित ......र यी सबै जीवनका आयाम हुन् । फरक–समयले दिने उपहार हुन् ।
गीतका सर्जक हुन् मिश्रा गुरुङ । इटहरी निवासी मिश्राका गीत,गजल र कविता दमदार छन् । उनी गुरुङ साहित्यिक मञ्च,नेपालकी केन्द्रीय सचिव एवम् कोशी प्रदेश संयोजक समेत हुन् । साहित्यमा उनको लगाव छ । निरन्तर गतिशीलता पनि । लेखिरहन्छिन् । उनको लेखाइमा समाज छ । समाजका अवयवहरु समेत छन् । समाजले दिएको उपहार गीत,संगीत हुन् । समाजको ऐना गीत हो । गीतमा समाज झल्किन्छ ।
मिश्राले आफ्नो गीतमा केटा पक्षका तर्फबाट यस्तो लेखेकी छिन् –
लाउन हौ माया पिरति जीवन हजुर छोटो छ
मेरो दिलको दरवारमा तिम्रै फोटो छ ।
गीतको अन्तरामा भनिएको छ –
काठ खाने धुलिया त मकै खाने घुन
मायालुको मुहार लाग्छ,पूर्णिमाको जून ।
पुरुषको कामै नारी रुपको बयान गर्ने नै हो कि जस्तो लाग्छ । पुरुषहरु प्रायः नारीको रुपको बयान गर्न खप्पीस हुन्छन् भने नारीहरु आफ्नो रुपको बयान सुन्न आत्तुर ! अन्तरामा रुपको बयान अघोरै छ । खुसी हुँदा,प्रेम बस्दा नारीको मुहारमा पूर्णिमा देख्ने पुरुषले रिसाउँदा किन औसीको रात ठान्दो हो ! रुपको बयान होइन,अब गुणको तारिफ पो गर्ने कि ! केटी पक्षका तर्फबाट मिश्रा लेख्छिन् –
लाउला नी माया पिरति जोवान हजुर साँचेर
बिताइ दिउँला यो जिन्दगी सँगै बाँचेर ।
अन्तरामा केटीपक्षले भनेको छ यस्तो –
धरतीमा धान झुल्यो,आकासमा तारा
आफू लिउँला दुःख पीर,खुसी दिउँला सारा ।
यो अन्तरमा केटीको समर्पण कति हृदयस्पर्शी छ । आफूले सबै दुःख,पीर सहेर पनि तिम्लाई खुसी दिन तयार छु भनेकी छिन् । यही हो प्रेमको समर्पण । प्रेमले उज्यालो दिन्छ । प्रेमले सुखको बाटो खोज्छ ।
नारीहरु कति कोमल हुन्छन् भन्ने यही गीतको अन्तरा काफी छ । आफू पोखिएर संसारकै खुसी दिने सायद नारी नै हुन् ।दिलको दरवारमा फोटोमात्र होइन,मन सजाएका छन् । प्रेम साटेका छन् । जीवन छोटो भएकै कारण प्रेमको आलिङ्गनमा कस्सिन हतारो गरिएको छ भिजुअलमा । गीतको सुन्दरता भनेकै कर्णप्रिय शब्द हुन् । मधुर गायनशैली पनि । सुनिराखुँ लाग्ने गीतले मनमा स्नेह दिन्छ शान्ति थप्छ । खुसीको दियो बाल्छ ।
परेश राई र कुसुम गुरुङको युगल श्वरमा सजिएको उक्त गीतमा शशी गुरुङ,वाङ्देलको संगीत सजिएको छ । अनिल थुलुङ,राईको निर्देशन र राजेश लिम्बूको सहकार्यमा मिश्राले दोस्रो कोसेलीका रुपमा दिलको दरवार बजारमा ल्याएकी हुन् । म्यूजिक भिडियाेमा दीपेश राई,मणिराज गुरुङ,चन्द्रकुमार गुरुङ , कुमारी, विमला, मेनका,सुनिता,संगीता,नवराज र अबिनाले आ-आफ्ना भूमिका निभाएका छन् ।
मिश्राले गीतको बजार खोजेकी छिन् । स्रोता एवम् दर्शकका स्नेह मागेकी छिन् । आफ्ना प्रतिभा पोखेकी छिन् शब्दमा । सजाएका छन् कर्णप्रिय शब्दहरु गायक र गायिकाहरुले आफ्ना स्वरमा । संगीतले गीतमा प्राण भरेको छ । दिलको दरवारमा राख्ने कोशिस गरेको छ ।
दिलको दरवारमा बस्ने कि नाइँ अब तपाइँ,हाम्रो इच्छा ?
गित सुन्नका लागि लिन्क क्लिक गर्नुहोस्।
https://youtu.be/ARCETy6fF2M?si=GyVpcFLVHUJw0yTl