बुटवल,पुस २९
बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ । पुस २९ गते आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए।
बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए। बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने बताए। उनीहरुले विकासका दृष्टिले तिनाउ पश्चिमको साविकको सेमलार र मोतीपूर पछाडि परेको भन्दै विशेष चासो दिन आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि दोश्रो पटक सार्वजनिक सुनुवाई गरिएको बताउँदै उहाँले यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । ’हामीले मोतीपुर र सेमलारको भावना के छ र कस्ता समस्या छन् भन्ने कुरा नजिकबाट थाहा पाउनका लागि मोतीपुरमै आएर कार्यक्रम गरेका हौं–उहाँले भन्नुभयो यहाँहरुले राखेका प्रश्नहरुले हामीलाई नीति कार्यक्रममा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेमा थप बल पुगेको छ।’ प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध सहर बनाउनका लिग सबैको साथ जरुरी रहेको बताउनुभयो । उहाँले नागरिक सचेत भएमा मात्रै विकासको खास अर्थ रहने भन्दै सार्वजनिक सरोकारका विषयमा र सार्वजनिक सम्पत्ति संरक्षणमा विशेष चासो दिन आग्रह गर्नुभयो । उहाँले बजार अनुगमन र राजश्व संकलनमा विशेष जोड दिएको बताउनुभयो ।
कार्यक्रममा उठेका विषयहरुमा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सहभागीका प्रश्न र सुझावहरुलाई विशेष प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफुहरुलाई महत्वपूर्ण सुझावहरु आएको भन्दै उनले प्रशासनिक सुधार गर्ने गरी काम गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध भएको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफु जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सार्वजनिक सुनुवाईमा १ सय भन्दा बढी सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट समेत तयार पारेर प्रस्तुत गरिएको थियो।
सार्वजनिक सनुवाई कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरि करिव २ सय जनाको सहभागिता रहेको थियो।