Hamroprayas
आज बडादसैंको आठौं दिन - महाअष्टमी पर्व मनाईदै

बुटवल,कार्तिक ५
आज आईतबार बडादसैं अन्र्तगतको आठौं दिन । महाअष्टमी पर्व मनाईदैछ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।नवरात्रिका ९ देवीहरूको पूजा अर्चना गरेर मनाईने बिजयादशमी पर्व नेपालीहरुको महान पर्व हो ।

नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । महाअष्टमीका दिन गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने प्रचलन छ ।  

घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दसैँ घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो लाग्नेगर्दछ । आज मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार रकलपूर्जाहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।आजैको दिन भद्रकालीको पनि विशेष पूजा अर्चना गरिन्छ । 

शक्तिकी महास्वरूप महागौरी र भद्रकाली स्वरूपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौँला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लट्ठी हालेर जनावरको स्वरूपमा बलि दिने गर्दछन् ।

हिजो नवरात्र अन्र्तगत सातौ दिन फूलपाति भित्रयाईपछि दसैंको रौनक थपिएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update