बुटवल, माघ ७
रुपन्देहीको ओमसतिया गाउँपालिकाले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते (२२ जनवरी, २०२४ तारिख) सोमबार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले विदा दिएको हो ।
सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ । सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव “सोनु“ले बताउनुभयो ।
अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरुमा दीप प्रज्जवलन गर्न अपील गर्नुभएको छ ।साथै भोलि गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको बध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्रीवितरण समेत नगर्न उहाँले अपील गर्नुभएको छ ।