बुटवल,माघ १२
बेवरेचिउरी गौंडा सामुदायिक वन उपभोक्ता समूह,तिनाउ–२, नुवाकोट,पाल्पाद्वारा आयोजित टीमबिल्डिङ तथा क्षमता अभिवृद्धि तालिमको शुक्रबार नुवाकोटगढीमा समापन भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय,पाल्पाका प्रमुख नारायणदेव भट्टराईले स्थानीय वन उपभोक्ता समूहले आफ्नो समूह सञ्चालन र व्यवस्थापनका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नु उत्तम काम भएको बताउनु भयो । साथै उहाँले नुवाकोटमा रहेको सांस्कृतिक डबलीलाई सुरक्षा र,संरक्षणका लागि समेत समूहले विशेष सहयोग गर्नुपर्ने बताउनु भयो ।
तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले नुवाकोट पर्यटकीय गन्तव्य भएको र यहाँ आउने पर्यटकहरुलाई सामुदायिक वनले कोसेली स्वरुप आफ्नो उत्पादन दिन सकेमा उत्तम हुने जानकारी गराउनु भयो । दुई दिनसम्म चलेको उक्त तालिममा समूहका कार्यसमितिलाई वन उद्यम,वनको संरक्षण र प्रवर्द्धनका लागि समूहको योगदान,टीमबिल्डिङ्ग ,क्षमता अभिवृद्धिका तरिकाहरुका विषयमा वन अधिकृत यमलाल पोखरेल,राजेश श्रेष्ठ,दलबहादुर गुरुङ लगायतले सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरुका तर्फबाट जयराज बस्याल,चन्द्रबहादुर क्षेत्रीले तालिमबाट वन,वातावरण,जैविक विविधता र लघु– उद्यमका विषयमा सिक्न पाएको र तालिम उपयोगी हुने बताउनु भयो ।कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष जुद्वबहादुर थापा र सञ्चालन समूहकी सचिव हरिकला कुमालले गर्नु भएको थियो ।