बुटवल,माघ १५
तिलोत्तमा नगरपालिकाको शंकरनगर स्वाथ्य चौकी परिसरमा सोमवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नमस्ते नेपालका कोषाध्यक्ष वरदान आचार्यको जन्मदिनको सुखद् अवसरमा आयोजित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घिमिरेले आफू तिलोत्तमा नगरको मेयर हुँदा २०७४ साउनदेखि सञ्चालन गरिएको ग्रीन तिलोत्तमा,क्लीन तिलोत्तमा अभियानलाई सार्थक बनाउनका लागि नमस्ते नेपालसँग हातेमालो गरी अघि बढेको बताउनु भयो । घिमिरेले आफ्नो समयावधिमा दुई लाख ४० हजार बेर्ना रोपिएको र मलजलको प्रवन्ध गरी हुर्काउने काममा नगरपालिकाले उल्लेखनीय प्रगति गरेको जानकारी गराउनु भयो । उहाँले वृक्षरोपणले नगरको सुन्दरता थपिएको र दातृसंघसंस्थाहरुले सोही कारण सहयोग गर्न इच्छुक भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
फजुल खर्च गर्नुको साटो नमस्ते नेपालले वृक्षरोपण गरेर जन्मदिन मनाउने चलनले वन,वातावरण र जैविक विविधता संरक्षणमा टेवा पुगेको संरक्षण अभियन्ता दलबहादुर गुरुङले बताउनु भयो । संस्थाले रोपेका बेर्नाहरु कहाँ,कस्तो अवस्थामा छन् भन्ने कुरालाई समेत ख्याल गरेर आगामी दिनमा वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिनुभयो ।
पूर्वजनप्रतिनिधि तामनाथ पाण्डेयले नमस्ते नेपालले गरेका उल्लेखनीय कामप्रति आफू सधैं सहयोगी रहेको र रहने समेत बताउनु भयो । युवाहरुको जोश,जाँगर र उन्नतशील कामप्रति आफू सधैं सकारात्मक बन्दै आएको पाण्डेयले उल्लेख गर्नुभयो । कार्यक्रममा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले आफूहरुले पाँच वर्षदेखि निरन्तर यो कार्यक्रमलाई प्राथमिकता दिदै आएको बताउँदै युवाहरु संरक्षणका निम्ति सबैसँग हातेमालो गर्न तयार रहेको उल्लेख गर्नुभयो । नमस्ते नेपालले सामाजिक कार्यमात्र होइन,संरक्षणका क्षेत्रमा समेत उल्लेखनीय प्रगति गरेको उहाँले बताउनु भयो ।
जन्मदिनको अवसरमा बेर्ना रोप्दै आइएको र फजुल खर्चलाई रोक्ने कामप्रति आफूहरु सचेत रहेको जानकारी गराउँदै वरदान आचार्यले युवाहरुलाई उत्प्रेरणा जगाउने काममा प्रमुख अतिथि घिमिरेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । नमस्ते नेपालका अध्यक्ष मनीष भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव सन्दीप पौडेल क्षेत्रीले गर्नुभएको थियो ।