Hamroprayas
कानुङले दियो देवदहको चरङ्गेमा सहकारी शिक्षा 

बुटवल,माघ २३
कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बुटवलले सदस्यता अभिवृद्धि गर्ने हेतूले गत शनिवार देवदहको चरङ्गेमा सहकारी सम्बन्धि आधारभूत शिक्षा तथा अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा स्थानीयबासिन्दाहरुको सार्थक सहभागिता रहेको थियो । 

तालिममा कानुङ बचत तथा ऋण सहकारीले गर्दै आएको आर्थिक कारोबार,समाजिक उत्तरदायित्व वहन,आफ्ना शेयर सदस्यहरुलाई आयआर्जनका लागि गरिएका उद्यमशील कार्यहरु र संस्थागत,नेतृत्व तथा ब्यक्तित्व विकासका कार्यहरु गर्दै आएको कामका बारेमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो  । साथै उहाँले नेपालमा सहकारीको वर्तमान अवस्था,देखिएका समस्याहरु र सहकारीले चाल्नुपर्ने कदमका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । सहभागीहरुलाई उहाँले सहकारीको अर्थ,परिभाषा र सिद्धान्तका बारेमा मसिनो गरी जानकारी गराउनु भएको थियो । 

तालिम समापन कार्यक्रममा स्थानीय मगर एकाई समितिका अध्यक्ष दिलबहादुर सारु मगरले आफ्नो गाउँमा आई सहकारीका बारेमा प्रष्ट जानकारी दिदैं आर्थिक सहभागितामा संलग्न हुन गरेको अनुरोध प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । आफ्नो ठाउँमा लालपूर्जावाला बस्ती नभएको र आर्थिक क्रियाकलाप गर्न समेत कठिन भएकोले सहकारीमार्फत आर्थिक गतिविधिहरुमा स्थानीयहरु जोडिन इच्छुक भएको उहाँले जानकारी गराउनु भयो । 

देवदह नगरपालिका वडा नं. १० का महिला जनप्रतिनिधि रेनुका आलेमगरले गाउँलेहरुलाई सहकारीमार्फत आर्थिक समृद्धिमा संलग्न गराउन आफूहरु क्रियाशील रहेको बताउँदै कानुङ सहकारीले यहाँका महिलाहरुलाई आर्थिक उपार्जन बढाउने खालका उद्यमशील तालिम दिनुपर्नेमा जोड दिनुभयो । महिलाहरुलाई सबै किसिमका अधिकार भएपनि आर्थिक अधिकार प्राप्त नभएको कारण महिलाहरु सधैं पछाडि पारिनु परेको दुखेसो ब्यक्त गर्नुभयो । 

सहभागीहरुका तर्फबाट सुरेश रानाले आफ्नो गाउँमा सहकारी भएरपनि आयस्रोत कम भएको र आर्थिक उपार्जनका कार्यक्रमहरु कम हुँदै आएको जानकारी गराउनु भयो । स्थानीय सहभागीहरुले उठाएको सवालहरुलाई कानुङ सहकारीका अध्यक्ष टोपबहादुर थापाले प्रष्ट्याउनु हुँदै आफ्नो सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलतातर्फ उन्मुख गराउँदै रोजगारी र स्वरोजगारीमा जोड्दै लगिएको बताउनु भयो । सहकारी नीति,नियम अनुसार चलेको आफ्नो सहकारीले आफ्नै स्वनियम समेत तयार पारेको बताउनु भयो ।

बचत तथा ऋणको कारोबार गर्ने आफ्नो सहकारीले सदस्यहरुको मनोभाव बुझेर नै अघि बढ्दै आएको बताउनु भयो । सदस्यमात्र नबनाइ उहाँहरुलाई समय समयमा सहकारी अभिमुखीकरण तालिम,सहकारी शिक्षा र सहकारीको आर्थिक ऐना समेत देखाउँदै आएको जानकारी समेत गराउनु भयो । 

 शिक्षा उपसमितिका संयोजक ठमि थापाको अध्यक्षमा सम्पन्न समापन कार्यक्रममा स्वागत पीताम्वर पुन, सञ्चालन सोही उपसमितिकी सदस्य गुमा सिंजालीले गर्नुभएको थियो । २०६५ देखि सञ्चालित उक्त सहकारीमा अहिलेसम्म करिव एक हजार नौ सय शेयर सदस्य र २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । 


 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update