Hamroprayas
पाल्पा रानीमहल जीप दुर्घटना अपडेट :  मृतक ६ जना र घाईतेको परिचय खुल्यो 

पाल्पा,कार्तिक ५
पाल्पाको रानीमहल बैकुण्ठेभिर नजिकै भएको दुर्घटनामा ज्यान गुमाएकाहरुको र घाईतेको परिचय खुलेको छ । पाल्पाको रानीमहल सडक खण्ड अन्तर्गत बैकुण्ठभिरमा आईतबार दिउँसो करिब ४ बजेको समयमा जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घटना स्थलमै मृत्यु भएका ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल, र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धिताल जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनाबाट गम्भिर घाईते चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ । घाईते लोहनीको स्वास्थ्य अवस्था पनि गम्भीर छ । मृतक सबैको टाउकोमा गम्भीर चोट लागेको थियो  ।

पर्यटकिय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरबाट खोलामा खसेको हो । जीप वैकुण्ठेभिर पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो । 
रानीमहल घुम्नका लागि आएकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

रानीमहल घुमेर फर्कदै गर्दा उनीहरु सवार जीप व्रेक फेल भई अनियन्त्रित भएर व्याक भएको थियो । जीप वराङ्दीखमेलाको पानीमा डुवेका कारण प्रहरी उद्दारमा कठीनाई र लामो समय लागेको थियो ।
जीपमा ७ जना सवार रहेका थिए । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटरको दुरीमा पर्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update