बुटवल,फागुन ३
विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम [मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच] गरेर सेवाको शुभारम्भ गरिएको मेडिकल सुपरिटेन्डेन डा। सुदर्शन थापाले जानकारी दिनुभयो ।
यो सेवाको शुभारम्भसँगै अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने उल्लेख गर्नुभयो । सरकारी स्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने डा.थापाले उल्लेख गर्नुभयो । स्थापनाको ११४ वर्षमा क्याथ ल्याब सेवा सुरु गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा। अर्जुन बुढाथोकीको नेतृत्वमा डा.रोशन घिमिरे, डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुंवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीया महिलाका एनजीओग्राम गरिएको थियो । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याव संञ्चालनको लागी २२ करोड बिनियोज गरेसँगै यो सेवा सुरु भएको छ । काडियोलोजी बिभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटुसम्बधी सम्पुर्ण उपचार गर्न सकिने बताउनुभयो । क्याथल्यावमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरि ८ जनाको समूहबाट सेवा प्रदान गरिने छ ।