
बुटवल,फागुन ६
बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेललाई बुटवलमा सोमबार स्वागत गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे अवलोकन तथा जानकारी लिने उदेश्यले आउनुभएका मिचेलले मुख्यमन्त्री चौधरी र नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सो अवसरमा चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको बारेमा जानकारी गराउनुभयो भने नगर प्रमुख पाण्डेयले बुटवलले माृतस्वास्थ्य र शिशुस्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको बताउनुभएको थियो ।
सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अंग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहको बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्वीर मायाको चिनोस्वरुप प्रदान गर्नुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार मिचेलले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग भेटघाट गर्ने कार्यतालिका रहेको थियो।