बुटवल,कार्तिक १३
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अहिले नेपालको भ्रमणमा हुनुहुन्छ । बिभिन्न बिषयमा नेपालका पदस्थ व्यतिmत्व र बिभिन्न ठाउँको अवलोकनमा रहनुभएका गुटेरेस मंगलबार लुम्बिनी भ्रमण गर्नुहुने लुम्बिनी विकास कोषले जनाएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रको सरसफाई गरिएको छ भने स्थानिय बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ ।
महासचिव गुटेरेस मङ्गलबार बिहान करिब ९ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित लुम्बिनी आउन लाग्नुभएका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाइ, सौन्दयीकरणदेखि सुरक्षासम्मको तयारी अन्तिम चरणमा पुगेको विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले जानकारी दिनुभयो ।
महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रुपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीले आपसी समन्वयमा तयारी गरिरहेका छन् ।उपाध्यक्ष लामाले महासचिव गुटेरेसको स्वागत र सम्मानमा कुनै कमी नआउने बताउनुभयो ।
नेपालका प्रधानमन्त्रीले लुम्बिनीमा आएर महासचिवलाई स्वागत गर्न लागेको यो पहिलो हो, त्यसैले पनि यो भ्रमणलाई विशेष महत्त्व दिएर हामीले हाम्रोतर्फबाट सबै तयारी गरिरहेका छौँ ।”लामाले भन्नुभयो । महासचिवको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीतिहरू तय गरिएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखसहित कोषका पदाधिकारीको उपस्थितिमा आईतबार बैठक बसी सुरक्षा रणनीति बनाइएको छ ।
महासचिव गुटेरेसले करिब डेढ घण्टा लुम्बिनीमा बिताउने कार्यक्रम तय गरिएको छ । डेढ घण्टाको अवधिमा उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै अशोक स्तम्भ अघिबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराउने कार्यक्रम रहेको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ । राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्नुभएको थियो ।
राष्ट्रसङ्घका महासचिवका रुपमा थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ ।