Hamroprayas
होराइजन मा.वि.मा. खाना महोत्सव, रक्तदान, पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल,फागुन ७
होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमा १ रुपन्देहीमा खेल सप्ताहको अन्तिम दिन आज खाना महोत्सव पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौल, प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, विज्ञान संकाय प्रमुख प्रदीप अर्याल, प्राध्यापक डा.नारायण प्रसाद पन्थ, रुद्र भुसाल, पत्रकारहरू, विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरू लगायतको आतिथ्यता रहेको थियो । 

होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुद्वारा आफूले विद्यालयमा सिकेका विभिन्न सीपहरु प्रदर्शन गर्न र विद्यार्थीहरुद्वारा तयार पारिएका खानाका परिकारहरुलाई व्यवसायिक सिपको विकास गर्ने उद्देश्यका साथ खाना महोत्सवको आयोजना गरिएको थियो । 

आठओटा स्टलमा खानाका विभिन्न परिकारहरू बनाई अभिभावक, प्राध्यापक तथा विद्यार्थीहरूलाई विभिन्न स्वादहरू चखाएका थिए । खाना महोत्सवमा सेकुवा, भुटुवा, सेलरोटी, बटुक, कोनडग, मम लगायतका विभिन्न परिकारहरू आफै तयार गरेका थिए ।
कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने विभिन्न विधाका खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

विद्यार्थीहरूमा मानवीय सेवाको भावना विकास गर्नका निम्ति विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरू गरी जम्मा १०१ युनिट रगत सङ्कल भएको कुरा कार्यक्रम संयोजक डा. नारायण प्रसाद पन्थले बताउनुभयो । 

खाना महोत्सवमा आठओटा स्टलमा गरी जम्मा चारलाख बराबरको आर्थिक कारोबार भएको र एक लाख पचास हजार मुनाफा भएको साथै त्यो मुनाफा विद्यार्थीहरू आफैले बाँड्ने समेत कार्यक्रम संयोजक होटल व्यवस्थापनका प्राध्यापक दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यसैबीच दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफलमा हरेक सेक्सनबाट प्रथम, द्वितीय एवम् तृतीय हुने र सर्वोत्कृष्ट हुने विद्यार्थीहरू तथा अभिभावकलाई नगद तथा पुरस्कारबाट सम्मान गरिएको छ । साथै राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०८० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ जना विद्यार्थीहरूलाई समेत मेडल, नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने विद्यालय बाहिर भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी भई उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मानसमेत सम्मान गरिएको छ । 
यसै वर्ष एमवीवीएस इन्जिनियरिङ् लगायत विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई समेत सम्मान गरिएको छ । खाना महोत्सवमा रहेका विभिन्न परिकारका आठओटा स्टलहरुमध्येबाट स्टल नं. १ कक्षा १२ सेक्सन बी बिहानी समूहले प्रथम स्थान हासिल गरेको थियो । 
खेल सप्ताहलाई भव्य र सभ्य र रुपमा सम्पन्न गर्नका निम्ति इन्द्र प्रसाद भुसालको संयोजकत्वमा विभिन्न १० वटा खेलकूदका छुट्टा छुट्टै संयोजकहरु चयन गरिएको र हरेक खेलका संयोजकहरुले आफ्नो कार्य उत्कृष्ट रुपमा सम्पन्न गर्नुभएकोमा करुवाद्वारा सम्मान गरिएको थियो । 
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समूह बनाई नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फर्सूराम गिरीले होराइजन गौतम बुद्ध मा.वि. देशकै उत्कृष्ट विद्यालय भएकोमा धन्यवाद दिंदै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूमा सिर्जनशीलता बढ्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसालले होराइजन गौतम बुद्ध मा.वि.ले विगतदेखि नै यस्ता गतिविधिहरू गर्दै आएको स्मरण गर्दै विद्यार्थीहरूमा व्यवहारिक ज्ञान सिकाउन आफूहरू प्रतिबद्ध रहेको कुरा स्मरण गर्दै सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरूलाई बधाई दिनुभयो । 

पुरस्कार वितरण समारोहमा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले होराइजन गौतम बुद्ध मा.वि. देशमै एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको हुँदा धेरै अभिभावकहरूको रोजाइमा होराइजन पर्ने गरेको कुरा उल्लेख गर्दै अभिभावकहरूको विश्वासलाई सार्थकता प्रदान गर्न विद्यालय प्रशासन निरन्तर लागिरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठले विद्यालयको भौतिक संरचना, यातायात सुविधा, शिक्षक कर्मचारीहरूको सेवा सुविधा विद्यार्थी तथा शिक्षक तथा कर्मचारीहरूका लागि तालिम, सेमिनार जस्ता कुराहरूमा सञ्चालक समिति सधै चनाखो हुने गरेको कुरा बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक तथा सञ्चालकहरूले यथेस्ट ध्यान दिन सकियो भने विद्यालयलाई थप उचाईंमा पु¥याउन सकिन्छ भन्नेमा जोड दिनुभयो । 

उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार एवम् विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि प्रसाद पराजुलीले गर्नु भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update