Hamroprayas
सैनामैनामा १ लाख ११ हजार पुरस्कार राशीको अन्तर जिल्ला भलिबल प्रतियोगिता हुने

बुटवल,कार्तिक १३

रुपन्देहीको सैनामैनामा आगामी मंसिर १२ गतेदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने भएको छ । स्थानिय दुधराक्ष युवा क्बलको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न १२ जिल्लाको सहभागिता रहने जनाईएको छ । 

सैनामैना नगरको विकासमा अग्रसर स्थानिय बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० हुने भएको हो । प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ । 

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताउनुभयो ।  

यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने पाण्डेले बताउनुभयो । 

क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताउनुभयो ।बिस २०७३ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसँगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको  बताउनुभयो । 

क्लब स्थापना भएसंगै युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउदै आएको  बताउनुभयो । छात्रवृत्ति वितरण, ट्राफिक सचेतना, लागुऔषध दुब्यसनी, रक्तदान, वृक्षारोपण, निशुल्क स्वस्थ्य शिविर गर्दै आएको बताउनुभयो । 

प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले नेपालको भू–बनोटलाई सुहाउने, हिमाल, पहाड, तराईमा खेल्न सकिने खेल भएको बताउनुभयो । 

उपप्रमुख बिना रानाले नगरको खेल विकासमा आफू संस्थागत रुपमा लागेको बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेल विकासमा सरकारको लगानी न्यून हुँदा सोचेजस्तो सफलता हात पार्न नसकेको बताउनुभयो । 
राष्ट्र र स्वास्थ्यको लागि खेलकुद नारा अनुसार सरकारबाट पुर्वाधार विकास र खेलाडीको क्षमता विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैया सहयोग गर्नुभएको छ  । 

लुम्बिनी प्रदेश र अन्यजिल्ला गरि १२ टिमहरुले भाग लिने प्रतियोगिता संचालन गर्न १६ लाख रुपैया खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update