लुम्बिनी, कार्तिक १४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको आह्वान गर्नुभएको छ । मंगलबार लुम्बिनी स्थित मायादेवी मन्दिर दर्शनपछि अशोक स्तम्भ अगाडि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसले विश्वमा शान्ति, करुणा र सदभाव कायम राख्न आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै गुटरेसको भ्रमणले विश्वमा शान्ति, सदभाव समझदारीको सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले विगतमा पनि संयुक्त राष्ट्र संघका महासचिवहरुको भूमिकाले लुम्बिनीको विकासमा महत्वपूर्ण कामहरु भएको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीलाई विश्व शान्ति र सदभावको केन्द्र विकास गर्न अन्र्तराष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो । संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक सहयोगमा केञ्जो टांगेले लुम्बिनी गुरुयोजना तयार पारेपछि नै तीर्थ र पर्यटनको केन्द्रका रुपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार भएको उनले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सन् १९९७ मा यूनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि लुम्बिनीको ऐतिहासिक र साँस्कृतिक महत्व विश्वव्यापी बनेको बताउनुभयो । उहाँले आफू संघर्ष र परिवर्तनबाट शान्ति स्थापनाकर्ताको नेतृत्व गर्न पाएको बताउँदै दीगो शान्ति नै अन्तिम उदेश्य रहेको बताउनुभयो । बुद्धबाट शान्ति, सदभाव र करुणा हामीले जन्मजात रुपमा पाएको गुण हो, हामी भगतु सर्व मंगलम् र बसुदैव कुटुम्बकम्मा विश्वास गर्छौ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
उहाँले पञ्चशिल सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्तिको सिद्दान्तलाई परराष्ट्र नीतिलाई निरन्तरता दिएको बताउनुभयो । प्रधानमन्त्रीले महासचिवका रुपमा गुटरेसले लुम्बिनीबाट शान्ति, सदभाव र एकताको सन्देश विश्वसामू लैजाने प्रतिबद्धताको प्रंशसा गर्नुभयो । उहाँले नेपालको हिमाली क्षेत्रमा जलवायू परिवर्तनले पारेको प्रभावबारे अन्नपूर्ण आधार शिविरमा पुगेर महासचिवले राखेर विश्वव्यापी ध्यानआर्कषण गराएकोमा धन्यवाद दिनुभयो ।
प्रधानमन्त्रीको समुपस्थितीमा लुम्बिनीको मायादेवी दर्शनपछि आयोजित पत्रकार सम्मेलनमा महासचि गुटेरेसले विश्वलाई शान्ति, करुणा र भातृत्व कायम गर्न अपिल गर्नुभयो । उहाँले विश्वमा द्धन्द्धका कारण हजारौं सर्वसाधरणको मृत्यू भएको बताउँदै बुद्धको शान्तिको शिक्षा अनुशरण गर्न अपिल गर्नुभयो । ‘युक्रेन र रुस, गाजा इजरायल सबैतिर द्धन्द्ध चलिरेहको छ, बालक बृद्ध र सर्वसाधरणले ज्यान गुमाइरहेका छन्, मानव अधिकारको हनन भइरहेको छ’ महासचिव गुटरेसले भन्नुभयो –‘बुद्धको शान्ति शिक्षा अनुसार शान्ति महसुस गर्नु र त्यसको परिचालन गर्नु आजको आवश्यकता हो ।’
पत्रकार सम्मेलन अघि प्रधानमन्त्री सहित महासचिव गुटरेसलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले भ्रमणले उत्साही बनाएको बताउनुभयो ।उहाँले महासचिवको लुम्बिनी भ्रमणले विश्व शान्तिको केन्द्रका रुपमा लुम्बिनीलाई विकास गर्न र सम्पदा संरक्षणामा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष लामाले संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव ऊ थान्तको भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थलका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । ‘विगतमा र अहिले यूएन महासचिवको भ्रमणले विश्व शान्ति र सम्पदा संरक्षणको प्रति संयुक्त राष्ट्र संघको प्रतिबद्धता झल्काउँछ’ उपाध्यक्ष डा. लामाले भन्नुभयो ।
यूक्रेस रुस र पछिल्लो पटक इजारायल हमास युद्ध चर्किरहेको बेला यूएन महासचिवले लुम्बिनीबाट विश्व शान्तिको कामना समेत गर्नुभयो । पोखराबाट भैरहवा विनमानस्थल हुँदै लुम्बिनी आईपुग्नुभएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरी शान्तिदीप हुँदै मायादेवी मन्दिरको भ्रमण गराईएको थियो । प्रधानमन्त्रीसँगै सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी, सरकारी उच्च पदस्थ अधिकारीहरुले गुटेरेसलाई स्वागत गर्नुभएको थियो ।
अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किनुभएका गुटेरेस लुम्बिनीमा निर्धारित कार्यतालिका भन्दा करिव २ घन्टा लुम्बिनी आईपुग्नु भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगै गुटेरेसले शान्ति दीपबाट पैदल हिँडेर मायादेवी मन्दिरको दर्शन, बुद्धस्मारक मार्कर स्टोनको दर्शन, पुष्करणी पोखरी हुँदै पिपलरुखमुनी स्वागत कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा गुटेरेसले दीप प्रज्वलन, भिजिटर बुकमा हस्ताक्षर गरेपछि लुम्बिनी विकास कोषका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीी मायाको चिनो र राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले खादा ओढाउनु भएको थियो ।
स्वागतकार्यक्रम पछि प्रधानमन्त्रीसँगै गुटेरेसले बुद्ध लुम्बिनीमै जन्मिएको अकाट्य प्रमाणका रुपमा रहेको अशोक स्तम्भको निरीक्षण र त्यही अशोक स्तम्भ अगाडि उभिएर पत्रकारहरुसँग आफ्नो धारणा राख्नुभएको थियो ।
शान्तिदीपदेखि मायादेवी मन्दिरसम्म कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले संयुक्त राष्ट्रसंघको भूमिका, गुरुयोजना जस्ता बिषयमा र मायादेवी मन्दिर परिसरमा पुरातात्वविद् बसन्त विडारीले लुम्बिनी महासचिवलाई जानकारी दिनुभएको थियो । साथै गुटेरेसले लुम्बिनीमा सालको विरुवा बृक्षारोपण गर्नुभएको छ । कार्यक्रमको सञ्चालन कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले गर्नुभएको थियो ।
गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुनुहुन्छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ ।