Hamroprayas
सर्वोच्चको फैसला लगत्तै  रिगल  पक्राउ

बुटवल,कात्तिक १६  
सर्वोच्च अदालतको फैसला लगत्तै प्रहरीले रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ। उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो।प्रहरीले उनलाई नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ गरेको हो। बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतु विक चोकबाट अपराह्न साढे ४ बजे रिगललाई पक्राउ गरेको जानकारी दिनुभयो ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय छुट सर्वोच्चले बिहीबार बदर गरिदिएको थियो।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सजाय छुट बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घटनामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध रहेका रिगललाई संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले कैद माफीदिनुभएको थियो । हत्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर  गर्नुभएको थियो ।

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update