काठमाडौं ,जेठ ३
काठमाडौंकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट हुनुभएको छ । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा पर्न सफल हुनुभएको हो ।
२८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुनुहुन्छ । लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो । यहीक्रममा उहाँले मनसिक स्वास्थ्य समस्या व्यहोर्न पर्यो तर कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन ।
अध्ययन सकेर नेपाल फर्किएपछि उहाँले ‘ह्याप्पी माइन्ड्स’ सुरु गर्नुभएको हो । मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ ।
यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ ।