Hamroprayas
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल,जेठ ४
बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ।शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गर्नुभयो । उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताउनुभयो ।

यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताउनुभयो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।  

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी बुटवललाई पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update