Hamroprayas
छतिवन रुख मानव स्वास्थ्यका लागि हानिकारक नरहेको पुष्टी

तिलोत्तमा ,कार्तिक १७
वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले छतिवन रुखको बारेमा फैलाइएको भ्रममा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ  । केसीले छतिवन रुख स्थानीय बनस्पति भएको बताउंदै मानव स्वास्थ्यका लागि हानिकारक नरहेकोे स्पष्ट पार्नुभएको हो ।छतिवन रुखको बारेमा तिलोत्तमा नगरमा उत्पन्न भ्रमबारे स्पष्ट पार्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा महानिर्देशक डा. केसीले नेपालमा रुख, विरुवा, फूल, वनस्पतिको सन्दर्भमा खोज, अनुसन्धान गर्ने र यस सम्बन्धमा कुनै विवाद आएमा त्यसलाई निरुपण गर्ने सरकारको आधिकारिक निकाय वनस्पति विभाग भएको उल्लेख गर्नुभयो ।
उहांले  छतिवनबारे भ्रमपूर्ण प्रचारहरु भएपछि विभागले गत साउन २३ गते त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सहितका विज्ञ राखेर अन्तरक्रिया तथा थप खोज अनुसन्धान गर्दा कुनै पनि तथ्य, प्रमाण, अभ्यासले छतिवन रुख मानव स्वास्थ्यका लागि हानिकारक नरहेको पुष्टी भएको समेत बताउनुभएको छ  ।छतिवन आयातित नभई नेपालको स्थानीय प्रजाति भएको र छतिवनले वातावरणलाई समेत कुनै असर नपार्ने तथ्य प्रमाणले पुष्टी गरेको डा. केसीको भनाई छ । उहांले तिलोत्तमा शहरी सुन्दर प्लान्टउन्मुख रहेको चर्चा भएको भन्दै कुनै शंका नगरी रुख संरक्षणमा ध्यान दिन नगरपालिकालाई ध्यानार्षण गराउनुभयो ।

यो रुख सडक किनारमा सहरी सौन्दर्य प्रवद्र्धनको लागि लगाउन उपर्युक्त विरुवा भएको, छतिवनमा अधिक प्रदुषण सोस्न सक्ने क्षमता रहेको, बाह्रैमासे हरियाली रहने, सहज रुपमा उपलब्ध, कम हेरचाहले हुर्कने भएकोले सडक किनारमा लगाउन उपयुक्त भएको पनि महानिर्देशक डा. केसीले बताउनुभयो।छतिवनको बोक्रा र चोपमा औषधिय गुण भएकोले विभिन्न समुदाय तथा आयुर्वेदमा औषधीहरुमा यसको प्रयोग हुने गरेको पनि उहाँले जानकारी गराउनुभयो । 

 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांण, उपप्रमु्ख जागेश्वरदेवी चौधरी,प्रमुख प्रशाकीय अधिकृत नारायण अर्याल,कार्यपालिका सदस्य सुरेन्द्र श्री, तिलोत्तमा ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले छतिवन रुखबारे अनेक भ्रम फैलाइएको र अनधिकृत ढंगले रुखहरु काट्ने क्रियाकलाप भएकाले यसबारे सत्य तथ्य आम नागरिकमा जानकारी गराउन सरकारको आधिकारिक निकाय वनस्पति विभागका महानिर्देशकबाट यथार्थ जानकारी गराउन कार्यक्रम गरिएको बताउनुभएको छ । 

उहाँहरुले अफवाहका पछाडी लागेर कसैले त्यस्तो कार्य गरे कडा जरिवाना गरिने भन्दै केही व्यक्ति हल्लाको आधारमा छतिवन रुखबारे भ्रम फैलाउंदै हिंडेको देखिएकाले कोही पनि भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update