बुटवल,जेठ ४
प्रसंनीय खोज पद्धती तथा सकारात्मक रुपान्तरणको क्षेत्रमा विगत १२ वर्ष देखी उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले सेकेण्डरी एजुकेशन एक्जामीनेशन (एसईई) दिएका विद्यार्थीहरुलाई सकारात्मक सोच र प्रतिकुलतालाई अनुकुलतामा वदल्ने जीवन उपयोगी सिप सिकाउने उद्धेश्यले डिजाईन योर फुउचर (तपाइको भविष्यलाई संरचित गर्नुहोस) नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यो कार्यक्रम काठमाण्डौमा जेठको २० गते देखी २७ गते सम्म सञ्चालन हुनेछ । बिद्यालयको अध्ययन पश्चात उच्च माध्यामिक शिक्षामा प्रवेश गर्दा विद्यार्थीहरुले धेरै प्रकारका नयाँ परिस्थितीहरु र परिवेशको सामना गर्नु पर्नेछ भने उच्च माध्यामिक शिक्षाको अवधिमा नै उनिहरुले आफनो विश्व परिदृश्य पनि निर्माण गर्नु पर्नेछ ।
एकातिर नियमित अध्ययन र अर्कोतिर भविष्यलाई कसरी निर्देशित गर्ने, सुन्दर र सफल जीवन निर्माण गर्न कस्ता सपनाहरु देख्ने र ती सपनाहरुलाई वास्तवीक जीवनमा कसरी रुपान्तरण गर्ने ? ती सपनाहरुलाई वास्तवीकतामा प्राप्त गर्न के कसरी लक्ष्यहरु निर्धारण गर्ने ? सपना साकार पार्ने सन्दर्भमा आउने वाधा अडचन र प्रतिकुलतालाई सामना गरेर कसरी अनुकुलतामा परिवर्तन गर्ने आदी सिपहरु यस तालिममा सहभागी विद्यार्थीहरुलाई सिकाईन्छ ।
यस तालिमले विषय वस्तुको अध्ययनमा उच्च दक्षता प्रर्दशन गरेका अब्बल विद्यार्थीहरुको लागि जीवन उपयोगी सिप, प्रसंसनीय खोज विधी र सकारात्मक सोचको समिश्रणले उनिहरुलाई नयाँ जीवनको लागि सही सपना देख्न र उक्त सपनालाई वास्तवीकतामा रुपान्तरण गरेर सफल जीवन बनाउने आधारशिला तयार गर्दछ ।
पढाईमा उत्कृष्ट हुँदा हँुदै पनि जीवनमा आईपर्ने साना वा ठुला समस्या वा अवरोधलाई सम्वोधन गर्न नसक्दा बर्षेनी हजारौ विद्यार्थीहरुले आफनो गन्तव्य गुमाउने गर्दछन जसकारण विद्यार्थी स्वयम् र परिवारमा समेत नकारात्मक असर पर्न गएकोछ भने जीवनको मार्गनै अन्तै मोडिएको छ । जीवनमा आईपर्ने जस्तासुकै समस्या वा परिस्थितीमा पनि उच्च र सकारात्मक मनोवलका साथ कसरी आफनो सपना र लक्ष्यमा दृढ रहने र सफलता प्राप्त गर्ने भन्ने वारेमा यस तालिममा सहभागी विद्यार्थीहरुलाई सिकाएर दक्ष बनाईन्छ ।
जीवनसँग सम्वन्धित अनुभवहरु, सिकाईहरु, प्रसंनीय खोज, अन्तरक्रियात्मक छलफल तथा कार्यशाला, विज्ञ परामर्श आदी तरिकाहरुको प्रयोग गरेर एकदम रमाइलो, उत्साहजनक र सहभागीतामुलक पद्धतीमा यो तालिम सञ्चालन गरिन्छ । एक हप्ता सम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीहरुले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न अभ्यास गराएर विद्यार्थीहरुलाई पोख्त वनाइन्छ ।