बुटवल,जेठ ९
लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले सरकारका राम्रा,नराम्रा दुबै प्रकारका समाचार लेखन सुझाव दिनुभएको छ। सरकारका सकारात्मक समाचारहरुलाई मात्रै प्राथमिकता नदिएर सरकारलाई सुझाब दिने खालका सकारात्मक सन्देश सहितका आलोचनात्मक समाचारहरु प्रकाशन र प्रसारण गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनमा बुधबारबाट बुटवलमा शुरु भएको सञ्चारकर्मी महिलाहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिमको उद्धाटन गर्दै मन्त्री अधिकारीले पत्रकारहरुले सधै सत्य र तथ्यमा टेकेर विषय वस्तु उठान गर्न आग्रह गर्नुभयो । जसले गर्दा समाजलाई सहि दिशानिर्देश हुने उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले आफु सधै महिला तथा बालबालिकाको हितमा रहेर काम गर्ने र सोही अनुसार नीति नियम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका निमित सचिव शारदा बश्यालले लुम्बिनी प्रदेशको लैङ्गिगक नीति र यसको अवस्थाको बारेमा जानकारी गराउदै सकारात्मक विभेदका साथ महिलाको लागि छुट्टै बजेट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आवाज बिहिनहरुको आवाज संचारमाध्यमले ल्याउनुपर्ने भएतापनि अहिलेको मिडिया जगत राजनीतिक बिषयमा केन्द्रित भएकाले महिला ,बालबालिका, अपांगता भएका व्यक्ती, लैंगिक तथा अल्पसंख्यक समुदाय, लगायत पिछडिएको समुदायका समस्यातिर त्यती ध्यान दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाले आफ्नो क्षमता अभिवृद्धि गर्न समाचार लेखनमा जोड दिनुका साथै यस्ता खालको तालिमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार दुर्गा पौडेल,माया गौतम, इन्सेक रुपन्देही प्रतिनीधि रिमा बिसी ,मन्त्रीका प्रेस सल्लाहकार उषकिरण पन्थ , रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी, फोनिज केन्द्रिय उपाध्यक्ष सरु राना लगायतले बोल्दै महिलाले क्षमता अभिवृद्धि गर्न लेख्ने बानीको विकास र अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।
तालिममा मन्त्रालयका निमित्त सचिव शारदा बस्याल र सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले सहजिकरण गर्नुभएको थियो । बिहिबार संचारिका समुह लुम्बिनी अध्यक्ष अमृता अनमोल र निवर्तमान अध्यक्ष पार्वती पाण्डेले सहजिकरण गनुहुने छ ।
उद्धाटन सत्रको कार्यक्रम मन्त्रालयका महिला विकास निरिक्षक कमला ज्ञवालीको स्वागत तथा बरिष्ठ शाखा अधिकृत प्रदिप खनालको सञ्चालनमा सम्पन्न भएको थियो । रुपन्देहीमा क्रियाशिल सञ्चारकर्मी महिलाहरु सहभागी भएको तालिम बिहीबार सम्म सञ्चालन हुनेछ ।