Hamroprayas
अटिजम भएका बालबालिकाका लागि बुटवलमा समर्पण बालगृह

बुटवल,जेठ १६
पछिल्लो समय बालबालिकामा देखिएको अटिजमको समस्या न्युनिकरणका लागि बुटवलमा समर्पण बालगृह संचालनमा आएको छ । महिलाहरु मात्रै आवद्ध लायन्स क्लब अफ बुटवल समर्पण क्लबले बुटवलमा एउटा फरक सोचको संस्था संचालनमा ल्याएको हो । 

बुटवल १० रामनगर स्थित ३ तलेघर भाडामा लिएर गृह संचालनमा आएको समर्पण बालगृहका अध्यक्ष शान्ता शर्माले जानकारी दिनुभयो । शुरुवातमा क्लबमा आवद्ध सात जना महिलाहरुको करिब १५ लाख रुपैयाँको लगानीमा २०८१ साल वैशाख ३ गतेदेखि बालगृहमा भर्ना प्रारम्भ भएको अध्यक्ष शर्माले बताउनुभयो। 

हाल सञ्चालक सात जना मध्येबाटै अध्यक्ष तथा वालगृहको प्रमुखमा डाक्टर शान्ता शर्मा, उपाध्यक्ष तथा तालिम संयोजकमा सरस्वती ढुङ्गाना, ट्रेनरद्धयमा बिन्दु अर्याल र विद्या लम्साल, संस्थाको एकेडेमिक प्रमुखमा ईशा भण्डारी ,स्वास्थ्य चेकजाँच तर्फ डाक्टरद्धय साजु शर्मा र बिनीता सोति लाई जिम्मेवारी तोकिएको छ । 

गृहमा बालबालिकाको अवस्था पत्ता लगाई उनीहरूलाई दिनुपर्ने शिक्षा र थेरापी आवश्यक सम्पूर्ण सुविधा दिईने विद्यालयका सञ्चालक तथा तालिम संयोजक सरस्वती ढुङ्गानाले बताउनुभयो ।अटिजम भएका बालबालिकाका लागि थेरापीको सामानहरू विदेशबाट मगाउनु पर्ने भएको हुँदा अलि धेरै खर्च महंगो लाग्ने भएकाले थेरापिका मेसिनहरू मगाउने क्रम चलिरहेको ढुङ्गानाले बताउनुभयो ।

गृहमा फरक फरक तरिकाले बालबालिकाको अवस्था अनुसारको शिक्षा स्वास्थ्य खानपान लगायत स्वास्थ्य जाँच ,अकुपेसनल थेरापी, बिहेभियर थेरापी लगायत आवश्यक सम्पूर्ण थेरापीहरू एकै ठाउँमा दिईने संचालक ट्रेनरद्धयमा बिन्दु अर्याल र विद्या लम्सालको भनाई छ । बालबालिकाको अवस्थामा सुधार हुँदै जाँदा फरक विद्यालयमा फेरि सिफ्ट गर्दै उनीहरूमा भएको क्षमतालाई पहिचान गरि सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालय स्थापना गरिएको संस्थाका एकेडेमिक प्रमुख ईशा भण्डारीले बताउनुभयो । 

बिद्यालयमा अभिभावकलाई तालिम,उनीहरूलाई सिकाउन र गराउनुपर्ने सम्पूर्ण कुराहरूको तालिकानै बनाएर अभिभावकलाई पनि सँगसँगै जोडेर अगाडि बढाउने र बालबालिकाको अवस्थालाई सुधार गरी एक जिम्मेवार नागरिक निर्माण गर्ने लक्ष्य लिएको सञ्चालक डाक्टरद्धय साजु शर्मा र बिनिता सोतिको भनाई छ । बिद्यालयले रुपन्देही आसपासका बिभिन्न ठाँउ लगायत बुटवलका सम्पूर्ण वडाहरूमा गएर अटिजमका बिषयमा जानकारी दिने, यसका कारण समस्याका बारेमा तालिमहरूको आयोजना गर्ने जनाएको छ । 

अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक (न्यूरो डेभलपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार विश्वमा हरेक ६८ जना नवजात शिशुमध्ये १ जनालाई अटिजम हुन्छ । 
बालबालिकामा अटिजम आशङ्कामा धेरै अभिभावकले विभिन्न किसिमका परीक्षण, उपचार निरन्तर गरिरहेको बताउँछन् । नेपालमा अटिजम भएकाहरूको वास्तविक तथ्याङ्क उपलब्ध छैन । 

अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक ((न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । यसलाई अटिजम स्प्रेक्ट्रम डिस्अडरको रूपमा लिइन्छ ।अटिजम भएका बालबालिकाहरूले एउटै व्यवहार, एउटै रुचि पटक पटक देखाउँछन् । उदाहरणका लागि आँखामा आँखा जुधाउने, बोल्दा अरू मान्छे वरिपरि छन् कि छैनन् भनेर महसुस गर्ने, नमस्ते, बाइबाइ गर्दा हात जोड्ने, हल्लाउने गरे पनि आवाज ननिकाल्ने, केही चाहियो भने औँलाले देखाएर आमा बुवाको मुखतिर हेर्ने लगायत हाउभाउ देखाउँछन् ।

यस्ता खालका हाउभाउ डेढदेखि दुई वर्षसम्म हुनुपर्छ । बालबालिकामा करिब १८ महिनादेखि दुई वर्षसम्म अटिजमको उल्लेखित लक्षण देखा पर्न थाल्छ । अटिजम भएको ६ वर्ष नपुग्दै पहिचान गर्न सकिन्छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update