लुम्बिनी, जेठ १६
बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन शुरु गरिएको हो ।
देवदह नगरपालिका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रुपमा कुटोले भुईँ खनेर शभारम्भ गर्नुभएको हो । बजेट अभावका कारण पुरातात्विक स्थलहरुको उत्खनन, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन थालिएको छ । स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।
उत्खनन शुभारम्भमा बोल्दै नगरप्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । उहाँँले उत्खननका लागि आगामि बर्षमा पनि बजेट छुट्याएर काम गर्ने बताए । नगरप्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताउनुभयो । उहाँले देवदहको भग्नावशेष क्षेत्रहरुमा उत्खनन हुँदा यसले पुरातात्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने बताउनुभयो ।
भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खननलाई प्राथमिकतामा राखेको बताउनुभयो । गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचिन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए ।
लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खननमा खटिएको छ । पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी आगामि एक महिनासम्म चल्नेछ ।