Hamroprayas
पाल्पाको निस्दीमा मनाईयो राष्ट्रिय महिला अधिकार दिवस 

पाल्पा,जेठ १६
प्रत्येक बर्ष जेठ १६ लाई नेपाल सरकार अन्र्तगत तिनै तहका सरकारले राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउदै आएका छन् ।  बुधबार नेपालमा छैंटौ राष्ट्रिय महिला अधिकार दिवस २०८१ “हाम्रो अभियान ,आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ मनाईएको छ । 

यसैविच पूर्वीपाल्पाको निस्दी गाउँपालिकाले विविध कार्यक्रमसहित छैटौं राष्ट्रिय महिला अधिकार दिवस पाल्पाको मित्यालमा मनाएको छ । दिवसका प्रमुख अतिथि जिल्ला समन्वय समिति,पाल्पाकी उपप्रमुख काशिका गैरेले महिलाका आफ्ना हक,अधिकार सम्वोधन र स्थापित भएको दिनको अवसरमा उक्त दिवस मनाउन थालिएको बताउँदै  महिला अधिकारलाइ स्थापित र संस्थागत गर्दै लैजानुपर्ने बताईन् । 

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेकी निस्दी गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले आफ्नो पालिकाले महिलाहरुलाई सशक्तिकरण गर्दै अधिकार स्थापित गर्ने यात्रामा गतिशील रहेको सुनाउनुभयो । 
दिवसका अवसरमा महिला हक,अधिकार,दायित्व र कर्तव्यका विषयमा अधिवक्ता मीना जीसीले सहजीकरण गर्नुभएको थियो । साथै उहाँले  अधिकारको प्रयोग र कर्तव्यप्रति जवाफदेही भएमा महिलाहरु सफल हुने उल्लेख गर्नुभयो  ।

कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल,१देखि ७ नम्बरसम्मका वडाध्यक्ष लगायत महिला अधिकारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्नातकोत्तर गर्ने निस्दीका तीनजना महिला,७ वटा वडाका सफल महिला उद्यमी, २० वर्ष पुगेका र १२ उत्तीर्ण विवाहित महिलाहरुलाई पालिकाले सम्मान गरेको कार्यपालिका सदस्य हेमकुमारी सुनारीले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला अधिकारसम्बन्धी सांस्कृतिक कार्यक्रम र बालविवाह विरुद्वको  प्रहसन देखाईएको थियो । कार्यक्रम पालिकाका प्रवक्ता मेखबहादुर सुनारीले स्वागत,महिला विकास शाखा प्रमुख बन्दना गुप्ताको सञ्चालन  र महिला समन्वय समिति,निस्दीकी अध्यक्ष तिर्सना खन्गाहाको अध्यक्षतामा दिवस सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update