पाल्पा,जेठ १८
पूर्वीपाल्पाको निस्दी गाउँपालिका वडा नं. ४,मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयले आफ्ना अभिभावकहरुलाई शुक्रवार अभिभावक शिक्षा प्रदान गरेको निस्दी गाउँकार्यपालिका सदस्य हेमकुमारी सुनारीले जानकारी दिनुभयो । विद्यालयका एक सय ३० जना अभिभावकहरुलाई उक्त शिक्षा दिइएको थियो ।
निस्दी गाउँपालिका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले अभिभावक शिक्षाका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यालयमा विद्यार्थी नियमित उपस्थित गराउने, विद्यालयबाट विद्यार्थी भाग्ने दर कम गराउने र विद्यालयप्रति अभिभावकको चासो बढाउनका निम्ति खेल्नुपर्ने भूमिकाका विषयमा प्रष्ट्याउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले विद्यालयमा विद्यार्थी नियमित नभएमा अध्ययन र अध्यापन कार्य फितलो हुने र शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने बताउनुभयो । पालिकाले शैक्षिकस्तर उकास्नका लागि यथेष्ट वजेट विनियोजन गरेतापनि सोचेजति शैक्षिक प्रगति हुन नसकेकामा उहाँले चिन्ता ब्यक्त गर्दै अभिभावक शिक्षामार्फत शैक्षिक गुणस्तर वृद्धिको लागि सरोकारवाला सबैमा अनुरोध गर्नुभयो । धेरै समय विद्यार्थी अभिभावकसँगै रहने र उनीहरुलाई असल शिक्षा दिन सकेमा शिक्षाको गुणस्तर उकासिने उहाँको सुझाव थियो ।
विशिष्ट अथितिका रुपमा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अभिभावकको चेतनास्तर माथि नउठेसम्म शैक्षिक उन्ननयन सम्भव नभएको बताउनुभयो । त्यसका लागि विद्यालयहरुले आफ्ना अभिभावकहरुलाई अनिवार्य रुपमा जाग्ररुक बनाउनु अभिभावक शिक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
वडा नं. ४,मित्यालका वडाध्यक्ष सन्तवीर सुनारीले आफूहरुले अभिभावकहरुलाई चिन्तनशील र सचेत हुनका लागि यस्तो खालको तालिमको आयोजना गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर सुनारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेयले गर्नुभएको थियो ।