Hamroprayas
विश्व वातावरण दिवस: सामुदायिक वनका वर्तमान अवस्थाका बिषयमा छलफल 

बुटवल,जेठ २३
विश्व वातावरण दिवसको अवसरमा तिनाउभित्र रहेका सामुदायिक वनका वर्तमान अवस्था विषयक् छलफल कार्यक्रम बुधबार दोभानमा सम्पन्न भयो । सामुदायिक वन समन्वय समिति, तिनाउले गत पुष २० देखि माघ २६ गतेसम्म तिनाउका ६ वटै वडाका ८४ वटा सामुदायिक र तीन वटा धार्मिक वनको अध्ययन,अवलोकन र अनुगमन गरि प्राप्त समस्याहरुलाई समाधानका उपायहरुसहित अध्यक्ष दलबहादुर गुुरुङले प्रस्तुत गर्नुभएको थियो । 

उहाँले सामुदायिक वनको सञ्चालन र व्यवस्थापन जटिल बन्दै गएको परिवेश उल्लेख गर्दै तिनाउ गाउँपालिका, सम्बन्धित वडाहरु, डिभिजन तथा सवडिभिजन वन कार्यालय,उपभोक्ता समूहहरु सबै सक्रियरुपमा आआफ्ना दायित्व पूरा गर्न लाग्नु पर्ने बताउनुभयो  । 
प्रमुख अतिथिका रुपमा रहेका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा प्रशस्त वनजंगल भएपनि आम्दानीलाई राजस्वको रुपमा बाँध्न नसकिएको गुनासो गर्नुभयो। वन,वातावरण र जैविक विविधता संरक्षणका लागि सरोकारवाला संघसंस्थाहरुसँग हातेमालो गरि आवश्यक बजेट विनियोजन गर्न आफ्नो पालिका तयार रहेको बताउनुभयो । 

साथै तिनाउका वडा नं २ र ३ का महिला समूहहरुलाई वातावरण दिवसको अवसरमा संरक्षण शिक्षा, बैठक सञ्चालन र माईन्यूट लेखन सम्बन्धि तालिम समेत दिईएको समितिकी सदस्य हरिकला कुमालले बताउनुभयो । तालिममा सहजीकरण संस्थाका अध्यक्ष दलबहादुर गुरुङ र महासचिव गणेश रास्कोटीले गर्नुभएको थियो । 

उक्त कार्यक्रममा सल्लाहकार राजेश श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय, कोषाध्यक्ष विनोद वस्याल लगायतले वातावरण प्रदूषित हुँदै गएको,जलवायु परिवर्तनको असर भोग्न थालिएको र संरक्षणमैत्री विकासे योजना तयार भएपनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । 

तालिममा सहभागीहरुका तर्फबाट निर्मला थापा,जमुना घर्ती,शिवकुमारी राना,विपना विक ,जानकी थापा लगायतले बैठक सञ्चालन र माईन्यूट लेखन तालिम प्रभावकारी भएको र आआफ्ना समूहमा कार्यान्वयन गर्ने प्रतिवद्वता समेत जनाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update